असार २३ सल्यान – दार्मा गाउँपालिका वडा नं. -४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त वली सम्पर्क बिहिन भएपछि आर्थिक हिनामिना सम्बन्धि बनेकाे छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

समितिकाे प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा खर्च लेखिएका गाेश्वारा भौचरहरु कुनै पनि बिल भर्पाइ र खर्च पुष्टि हुने आधार नभएको र सहकारीको सम्पत्तिहरुकाे कुनै पनि अभिलेख नराखिएको पाइएको छ। त्यस्तै प्रबन्धक वलीकाे नाममा १ लाख ११ हजार ६ सय ७३ बराबरको रकम पेश्की बाँकी समेत रहेकाे पाइएको छ। विभिन्न शिर्षकमा जम्मा १४ लाख ४० हजार ९ सय ९६.३६ पैसा बराबर रकमकाे हिसाब मिलानमा बिल भर्पाई तथा पुष्ट्याईका कागजात नभएको पाइएको छ।

त्यसैगरी सहकारीमा जम्मा २५१ जना ऋणी मध्ये केही फर्जी रुपमा खडा गरि हिसाब मिलान गरेकाे, सहकारीले दुध संकलन गरेकाे हिसाब नदेखाएर गाडी भाडा लगाएत अन्यकाे मात्रै देखाएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

सहकारीको रकम हिनामिना गरि प्रबन्धक वली सम्पर्क बिहिन भएपछि आर्थिक छानबिन गरि दिन भन्दै गाउँपालिकामा निवेदन परेपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम वलीकाे संयाेजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरिएको थियोे।

प्रबन्धक वली २०७९ जेठ २७ गते देखि सम्पर्क बिहिन भएका थिए। प्रबन्धक वलीले सहकारीको ३५ लाख रुपियाँ हिनामिना गरेको खुलेपछि २०७९ जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा वलीले स्विकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेको भोलिपल्ट देखि नै सम्पर्क बिहिन भएका थिए।

गत जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदैछु भनेका वलीले फोन स्विच अफ गरेर सम्पर्क बिहिन भएको सहकारी संचालक समितिले बताएको छ।

प्रबन्धक वलीले सामाजिक संजाल मार्फत आफुु भारतकाे बनारस रहेकाे बताउदै आफु आएर हिसाब दिने बताएका वली अहिले सहकारीको सम्पर्कमा आएर पनि सहकारी मै रहेकाे बताइएको छ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार