कात्तिक १५ काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविक भन्दा निकै कम रहेको खुलासा भएकाे छ । प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको वास्तविक संख्याले १४ सयभन्दा माथि रहेको देखाउँछ।   मन्त्रालयले भने शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ।

सातवटा प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार भन्दा माथि हुन जान्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा अहिलेसम्म सबै संक्रमित शव नेपाली सेनाले नै व्यवस्थापन गर्ने गरेको छ । सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिककाे तथ्यांकमा छ ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने र यसअघि सेनाले शव व्यवस्थापनको तथ्यांक सार्वजनिक गर्दा करिब दुई सय हाराहारीले मन्त्रालय र सेनाकाे तथ्यांकमा अन्तर थियाे । अहिले सीसीएमसीले तथ्यांक रुजु गरिरहेकाले सबै रुजु भइसकेपछि मात्रै औपचारिक तथ्यांक बताउन सकिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

कुन कुन प्रदेशमा छ भिन्नता ?

बाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ ।

गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ ।

लुम्बिनी सरकारका अनुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ ।

सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।

प्रारम्भिक रूपमा अस्पताल, स्थानीय तह तथा डीसीसीएमसी बीच समन्वय अभावले तथ्यांक फरक परेको देखिन्छ। यस्तै केही अस्पतालले ईडीसीडीलाई तथ्यांक उपलबध नगराउँदा पनि यस्तो समस्या देखिएकाे हाे। प्रदेश र स्वास्थ्य मन्त्रालयकाेे तथ्यांकमा भिन्नता भएको मन्त्रालयले स्विकार गरेकाे छ। सचिव लक्ष्मण अर्यालले मृतकको वास्तविक संख्या र मन्त्रालयलाई प्राप्त संख्याबीच धेरै ठूलो भिन्नता देखिएको स्वीकार गर्दै त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको हुदा संख्यामा भिन्नता छ भन्ने थाहा भएपछि मन्त्रालयका अधिकारी, सीसीएमसीमा कार्यरत चिकित्सक तथा ईडीसीडीका प्रमुख सम्मिलित समिति बनाएकाेे छ। समितिले आइतबार प्रतिवेदन पेस गर्ने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार