असार १० काठमाडौ – मोरङको विराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका-४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उनिहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारत तर्फ लैजादै गरेको खुल्न आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।

पक्राउ परेका दुवैजना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिहेको प्रहरी उपरीक्षक राईले बताए।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार