असार ५ काठमाडौ – अदालत परिसरबाट भागी फरार रहेको लागु औषध मुद्दाका फरार एकजना प्रतिवादी ३ घण्टाभित्रै पुनःपक्राउ परेका छन।
लागु औषध मुद्दामा म्याद थपको लागि काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइएका सप्तरी कचन गाउँपालिका -२ घर भई हाल काठमाडौ महानगरपालिका -९ तिलगङ्गा बस्ने २८ वर्षिय अनिल ठाकुर पुनः ३ घण्टामै पक्राउ परेकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
आइतबार बेलुका ५:३५ बजे अदालत परिसरबाट भागी फरार भएको भन्ने सूचना प्रहरी परिचालन कक्षमा प्राप्त भएपछि तत्कालै प्रहरी परिचालन कक्षबाट उक्त सूचना काठमाण्डौ उपत्यकास्थित सम्पूर्ण प्रहरी इकाई (ललितपुर र भक्तपुरसमेत) हरुलाई जानकारी गराई सुक्ष्म तवरले चेकजाँच गर्ने ब्यवस्था मिलाउदै नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, प्रहरी बृत्त सिंहदरबार, जनसेवा, नयाँ बानेश्वर, गौशाला, दरबारमार्ग, कालीमाटी, थानकोट, प्रहरी प्रभाग कोटेश्वर, नागढुङ्गा र इ.प्र.का. फर्पिङ लगायतलाई बिशेष तवरले परिचालन गराई काठमाण्डौबाट बाहिरिन सक्ने सम्पूर्ण नाकाहरुलाई शिल गरिएकाे थियाे।
प्रभावकारी तवरले कडा चेकजाँचको गर्दै जादा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट बिशेष प्रहरी इकाईलाई अनुसन्धानका बिविध बिधि र प्रविधिमार्फत अनुसन्धान गर्न खटाइएकोमा जिल्ला प्रहरी परिसरको उक्त बिशेष प्रहरी इकाई र प्रहरी प्रभाग कोटेश्वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा करिब ८:३५ बजे कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पुन: नियन्त्रणमा लिइ प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान भईरहेको परिसरले जनाएको छ।