जेठ २४ काठमाडौ – अवैध रूपमा सुन तस्करी गर्ने सात जना सुन सहित पक्राउ परेका छन।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षिय निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा, चीनको तिब्बत घर भई हाल बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन, नवलपरासी पश्चिम सुनवाल-१० घर भई हाल माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल, भारतको दिल्ली कृष्णनगर घर भई हाल ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको RA230 उडान नम्बरको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदै गरेकाे विशेष सूचनाकाे आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीकाे विशेष अनुसन्धान टाेलीले पक्राउ गरेकाे साेहि कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
प्रहरीले पहिला दुई जनालाई मात्रै निगरानी गर्दा पछि गिराेह नै पक्राउ गर्न सफल भएको हाे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरीकाे नाममा विशेष सुचना पाएकाे प्रहरीले उनिहरुमाथि निगरानी गर्दै जानेक्रममा गिराेह सहित फेला परेकाे प्रहरी उपरीक्षक काेइरालाले बताए।
उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाइ टासेकाे अवस्थामा ठकुरीबाट ५७२.१६० ग्राम र शाहीबाट ३९६.८९ ग्राम सुन फेला पारेर प्रहरीले केमिकल प्रयाेग गरि उक्त सुन कपडाबाट पगालेर निकालेको हो।
पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीको लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाएको प्रहरी उपरीक्षक काेइरालाले बताए।