जेठ १३ काठमाडौ – श्रीमती हत्याका आराेपित सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला पक्राउ परेका छन।

काठमाडौ महानगरपालिका -३१, नयाँ बानेश्वर बाट ५५ वर्षिय कोइरालालाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाले जनाएको छ।

हत्या आराेपित सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत बिहीबार उल्ट्याएपछि पुनः पक्राउ गर्नुपरेकाे काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि कोइरालाले हत्या अभियाेगमा २०६८ माघ ८ गते जेल परेका थिए। त्यसबेला मुलुकी ऐन अनुसार जन्मकैदको फैसला २० वर्षको भएको भएपनि घटनाकाे प्रकृति अनुसार मृतक श्रीमती गीता ढकालकाे पनि केही गलती देखिएपछि र सन्तान संरक्षण हक हेर्दै उनले ८ वर्ष ६ महिना जेल भुक्तान गरेपनि दाेषि वापतकाे सजाय पूरा हुने भन्दै प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले साढे ११ वर्ष घटाएर साढे ८ वर्ष कैद बसे पुग्ने भनेपछि काेइरालाले साढे ८ वर्ष जेल भुक्तान गरिसकेका थिए।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासबाट बुधबार कोइरालालाई साविक मुलुकी ऐन अदालती बन्दोबस्ती १८८ नं. तथा हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम आठ वर्ष छ महिना कैद सजाय हुने गरि राय दिएको हद सम्म काेइरालाले गरेको गम्भीर कसुरको प्रकृति र कसुर गर्दाको अवस्था समेतको आधार कारण बाट सो फैसला मिलेको नदेखिदाँ सो फैसला उल्ट्याएपछि काेइराला माथि मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) नं. बमोजिम २० वर्ष कैद सजाय ठहर हुने भन्ने फैसला भएपछि फरार रहेका कोइरालालाई काठमाडौं उपत्यका अपराध महाशाखाकाबाट खटिएका विशेष प्रहरी टाेलीले पक्राउ गरेकाे प्रहरी उपरीक्षक कोइरालाले बताए।

तर पुनः कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग गर्दा यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने ठहर गर्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन गरेकाे जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार