असोज १०, सल्यान – विद्यार्थी राजनीतिदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका युवा नेता नवराज डाँगी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवार बनेका छन्।
नवराजले वि.सं. २०६३ सालदेखि जनकल्याण माध्यमिक विद्यालय, थारमारेको इकाई सचिव हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि महेन्द्ररत्न क्याम्पस, तााहाचलको इकाई तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहे। वि.सं. २०७३ को स्ववियु निर्वाचनमा तत्कालीन अवस्थामा नेपालकै सबैभन्दा बढी विद्यार्थी रहेको नेपाल ल क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बने पनि निर्वाचन हुन सकेन।
वि.सं. २०७९ मा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका नवराज हाल त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति तथा विकास विषयमा एमफिल/पीएचडी अध्ययनरत छन्।
शैक्षिक तथा अनुसन्धान क्षेत्रमा समेत अनुभव हासिल गरेका नवराजले २०७२ सालमा स्नातकोत्तर तह पूरा गरेपछि काठमाडौं शिक्षा क्याम्पसमा स्नातक तहमा अध्यापन गरेका थिए। त्यस्तै, २०७४ सालमा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा एक वर्ष अनुसन्धानकर्ताका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ।
गणितमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका नवराज सार्वजनिक प्रशासन तथा कानुनका जानकारका रूपमा समेत परिचित छन्। विद्यार्थी राजनीति, अध्यापन, अनुसन्धान र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनी विद्वान तथा युवा नेताको छवि बनाएका व्यक्तिका रूपमा प्रस्तुत हुँदै आएका छन्।
केन्द्रीय तहमा समेत बलियो राजनीतिक सम्बन्ध र पहुँच रहेको मानिने नवराजले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीलाई विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा सक्रिय हुँदै आएका युवाको प्रतिनिधित्वका रूपमा हेरिएको छ।