असोज १०, सल्यान – नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ अन्तर्गत सल्यानबाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधि पदमा चमन बुढाथोकीले उम्मेदवारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनसँग आबद्ध रही राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका बुढाथोकीले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएको बताएका छन्।
बुढाथोकीले आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँदै अघि बढाएका हुन्। त्यसपछि नेपाल तरुण दलको पालिका अध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै क्षेत्रीय सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
पार्टी संगठनसँगै बुढाथोकी लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय कार्यमा अग्रसर हुँदै आएका छन्। स्थानीयस्तरमा सामाजिक गतिविधि, जनसेवा तथा समुदायसँग प्रत्यक्ष जोडिएका कार्यमा सक्रिय रहँदै आएका उनी संगठनभित्र पनि युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै आएका छन्।
यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका बुढाथोकीले आफूले विगतमा संगठनमा निर्वाह गरेका विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई पार्टीको व्यापक हितमा प्रयोग गर्ने बताएका छन्।
उनले पार्टीको नीति, विचार र संगठनलाई थप मजबुत बनाउन तथा कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।