रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित व्याङखोला नजिक सहिद मार्गमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ८ बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट ट्राफिकसहितको टोली तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार अस्थायी नम्बर प्लेट MH14TCJ 471 रहेको सिंगल क्याब बोलेरो पिकअप गाडी सडकबाट करिब ५००–६०० मिटर तल खसेको अवस्थामा फेला परेको हाे। गाडीमा जस्तापाता, सिमेन्ट, प्लास्टिक पाइपलगायत निर्माण सामग्री बोकेको थियो।

दुर्घटनामा चालक दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दाङ दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी तथा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी गए राति ११/१२ बजेकाे समयमै भएको अनुमान प्रहरीको छ।  दुर्घटना भएको बिहान मात्रै देखिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घटनास्थल निकै भिरालो र दुरि धेरै रहेकाले चालकको शव निकाल्न आर्मी बाेलाउनु परेको हाे। मृतक तीनमध्ये श्रीमान–श्रीमतीको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले लामाे प्रयासपछि माथि बाटोमा निकाले पनि चालकको शव अप्ठ्यारो ठाउँमा फसेको हुदा जान सम्भव नभएपछि आर्मीलाई बोलाउनु परेको थियाे। आर्मीले घिर्नी, पुल्ली लगायतका सामग्रीको प्रयोग गरी चालकको शव निकालेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुले बताए ।

दुर्घटनाको कारण भने चालक निदाएको हुन सक्ने अनुमान प्रहरीकाे छ। दुर्घटनास्थलमा सडक राम्रो छ न कुनै उकालो, न घुम्ती केही छैन त्यसकारण चालक निदाएको हुन सक्ने अनुमान हाम्रो छ बाँकि अनुसन्धानबाट खुल्न आउला डिएसपी बाखुले जनसहारासंग बताए।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार