रोल्पाको जलजला क्षेत्रमा विश्वमै दुर्लभ मानिने रेडपाण्डा फेला परेको छ। जलजला क्षेत्र अन्तर्गत जेलबाङको जंगलमा स्थानीयले रेडपाण्डा देखेका हुन्। उक्त क्षेत्र समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको बताइएको छ।
विश्वबाट लोपोन्मुख सूचीमा रहेको रेडपाण्डा नेपालसहित भारत, भुटान, चीन र म्यानमारका सीमित हिमाली क्षेत्रमा मात्रै पाइन्छ। पछिल्लो समय रोल्पाको उच्च पहाडी क्षेत्रमा यसको उपस्थितिले वन्यजन्तु संरक्षणका दृष्टिले महत्त्वपूर्ण संकेत दिएको सरोकारवालाहरू बताउँछन्।
रोल्पाका पर्यटन व्यवसायी तथा फोटो पत्रकार बाल्कुराम पुन ले जंगलमा रेडपाण्डा खेलिरहेको अवस्थामा फेला पारी ३८ सेकेन्ड लामो भिडियोसमेत कैद गरेका छन्। उनले कैद गरेको दृश्यमा रेडपाण्डा जंगलभित्र सहज रूपमा हिँडडुल गरिरहेको देखिन्छ। रेडपाण्डा भेटिएको क्षेत्रमा प्रशस्त मात्रामा हिमाली बाँस र चिया पाइने स्थानीय बताउँछन्। यी वनस्पति रेडपाण्डाको मुख्य आहारका रूपमा परिचित छन्।
रेडपाण्डाकाे संरक्षणका लागि परिचालित रेडपाण्डा नेटवर्कले पनि रोल्पाको जलजला, गाम, जेलबाङ, थबाङ, उवा तथा रुकुम पूर्वका विभिन्न उच्च पहाडी क्षेत्रमा रेडपाण्डाको खोज तथा अध्ययन गर्दै आएको छ। सम्भावित बासस्थान पहिचान गरी संरक्षण र प्रवर्द्धनका लागि परियोजनासमेत सञ्चालन भइरहेको जनाइएको छ
अहिले याे रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालयले राेल्पाले पनि कार्ययोजना बनाउदै गरेको डिभिजन वन कार्यालय राेल्पाका प्रमुख डिभिजनल बन अधिकृत यज्ञमुर्ति खनालले बताए। जनसहारासंग कुरा गर्दै उनलेे भने-`कार्ययाेजना तयारीकाे क्रममा छ, प्रचार प्रसार, स्थानीय संग छलफल अन्तरक्रिया भइरहेको छ।´