भक्तपुरका मसाज सेन्टरहरूमा अवैध गतिविधि सञ्चालन भइरहेको आशंकामा प्रहरीले स्वीप अपरेसन चलाउँदा ७९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख २६ गते विशेष कारबाही सञ्चालन गरेको हो। जिल्लाभित्र सञ्चालित मसाज सेन्टरहरूमा छापा मार्ने क्रममा त्यहाँ कार्यरत ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई नियन्त्रणमा लिइएको छ। साथै अन्य शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।
मसाज सेन्टरमार्फत यौनजन्य अवैध धन्दा सञ्चालन भएको आशंकामा कारबाही गरिएको र नियन्त्रणका क्रममा यौनजन्य केही प्रमाण समेत फेला परेपछि सबैमाथि थप अनुसन्धान भइरहेको छ।