दाङको लमही क्षेत्रमा कपाल काट्ने (नाई) व्यवसाय गर्दै आएका व्यवसायीहरूले सेवा शुल्क वृद्धि गरेका छन्। लामो समयदेखि स्थिर रहेको दरलाई परिमार्जन गर्दै नयाँ शुल्क लागू गरिएको हो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक सञ्चालन खर्चमा वृद्धि भएको भन्दै शुल्क समायोजन गर्नुपर्ने अवस्था आएको व्यवसायीहरूको भनाइ छ। यही सन्दर्भमा लमहीमा बसेको बैठकले नयाँ दर निर्धारण गर्ने निर्णय गरेको नेपाल नाइसंघका अगुवा जगनारायण चौधरी (गुरु)ले जानकारी दिए।
निर्णयअनुसार गाउँघरमा पसल सञ्चालन गर्ने नाईहरूले कपाल तथा दाह्री काट्दा अब १३० देखि १५० रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। त्यस्तै, बजार क्षेत्रमा रहेका पसलहरूमा यो शुल्क १५० देखि २०० रुपैयाँसम्म तोकिएको छ।
यस्तै, एसी जडान भएका आधुनिक पसलहरूमा भने सेवा अनुसार २०० देखि २५० रुपैयाँसम्म शुल्क लिने व्यवस्था गरिएको छ।
व्यवसायीहरूले बढ्दो महँगीका कारण सेवा शुल्क समायोजन अपरिहार्य भएको जनाउँदै उपभोक्तालाई बुझिदिन आग्रह गरेका छन्।