सरकारी छाप तथा दस्तखत किर्ते गरी मोटरसाइकल बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले सल्यानका ३ जनालाई दाङबाट पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका–५ माछापुच्छ्रे टाेल स्थित थारमारे भण्डारी होटलमा नक्कली सरकारी छाप र कागजात प्रयोग गरी मोटरसाइकल कारोबार भइरहेको सूचनाका आधारमा उक्त हाेटलमा इलाका प्रहरी कार्यालय तुलसीपुरले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन विष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बाेहराले बताए।

प्रहरीले उनीहरूको साथबाट बा.प्र. ०२–०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब – १ थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको नाममा बनाइएको डिजिटल नक्कली छाप – १ थान, रा.२ प ३१९५ नम्बरको सवारी दर्ता किताब – १ थान, बा.प्र. ०२–०४६ प ७३७० नम्बरको यामाहा कम्पनीको V3 मोडेल मोटरसाइकल – १ थान बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूले नक्कली कागजात र सरकारी छाप प्रयोग गरी मोटरसाइकल बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनिहरु माथि जिल्ला अदालत दाङबाट म्याद थप गरी किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ३ गते बिहिवार