रोल्पा । २१ वर्षको उमेर, जुन बेला सपनाहरूले पखेटा हाल्छन् र खुट्टाहरूले पहाडका टाकुरा नाप्छन्। तर सुनछहरी–५ पोबाङका बले पुन मगरका लागि २०८० को भदौ महिना एउटा कहिल्यै निको नहुने घाउ बनेर आयो। फुलिबनको मेला हेरेर घर फर्किँदै गर्दा एउटा अभागी भिरले उनको जवानी मात्र खोसेन, उनको हिँड्ने पाइला र बाँच्ने रहरलाई पनि एउटा ओछ्यानमा बन्धक बनाई दियाे।
दुर्घटनापछि कम्मरमुनिको भाग पूर्ण रूपमा नचल्ने भएर थलिएका बलेको घरको कथा झनै मर्माहत छ। सहारा दिने आमाको वर्षौँ पहिले परदेश (भारत) को माटोमा पसिना बगाउँदा-बगाउँदै निधन भइसक्यो। घरमा बुबा, दाइ र भाइ त छन्, तर गरिबीले यसरी गाँजेको छ कि छोरालाई एउटा राम्रो अस्पतालसम्म पुर्याउने खर्च जुटाउनु उनीहरूका लागि सपना जस्तै भएको छ। उपचार नपाएर ओछ्यानमै सुकेर गइरहेका बलेको आँखामा अहिले केवल शून्यता र विवशता मात्र देखिन्छ।
तर, मानवता अझै मरेको छैन भन्ने उदाहरण बनेर उभिए— पोबाङका दिदीबहिनीहरू। गएको तिहारमा जब गाउँघर देउसी-भैलोको रौनकमा झुमिरहेको थियो, देउमा पुन मगरको नेतृत्वमा सृष्टी, रोमिया, पेमा, उर्मिला, एन्जिला, सुनमती, उर्मिला (बि), रसु, गिता र सरिता पुन मगर लगायतका दिदीबहिनीहरूले एउटा पवित्र संकल्प लिए। उनीहरूले आफ्ना लागि दक्षिणा मागेनन्, बरु ओछ्यानमा छटपटाइरहेका भाइ बलेका लागि ‘जीवन’ मागे। गाउँका आँगन-आँगन चहारेर संकलन गरिएको त्यो भैलोको रकमबाट उनीहरूले बलेका लागि एउटा ह्विलचेयर उपहार ल्याइदिए।
ह्विलचेयर हस्तान्तरण गर्दाको दृश्य निकै भावुक थियो। दिदीबहिनी टिमकी देउमा पुन मगर भक्कानिँदै भन्नुहुन्छ, “सहयोग गर्न पाउँदा मनमा सन्तोष त मिलेको छ, तर भाइको यो हालत देख्दा मुटु नै काटिएर आउँछ। एउटा तन्नेरी मान्छे यसरी ओछ्यानमै सड्नु पर्ने? हामी त सानो सहारा मात्र हौं, उनलाई त ठूलो उपचारको खाँचो छ।” उहाँले रुँदै देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपील गर्नुभयो— “मानवीयताको नाताले यो भाइलाई मर्न नदिनुहोस्, एउटा सानो सहयोगले कसैको गुमेको संसार फिर्ता आउन सक्छ।”
पोबाङका दिदीबहिनीहरूले त आफ्नो धर्म निभाए, देउसीको दक्षिणाबाट एउटा घाइतेको आँसु पुछ्ने प्रयास गरे। तर, के २१ वर्षीय बलेको जीवन फेरि तंग्रिएला? के उनले फेरि आफ्नै खुट्टामा उभिएर संसार हेर्न पाउलान्? यो प्रश्न अब हामी सबैको अगाडि उभिएको छ।