जेठ ३०, सल्यान – युवा महिलाहरुको आधारभुत कटाई सिलाई सिपलाई थप सुदृढ गर्दै व्यवसायतर्फ लैजानका लागि सल्यानमा एक महिने तालिम सञ्चालन गरिएको छ । सिलाई मेसिन तथा अन्य सामग्रीहरु उपलब्ध गराउँदै जिल्लाको छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका महिलाहरुका लागि कटाई सिलाई सम्बन्धी एक महिने पुनर्ताजकी तालिम प्रदान गर्न लागिएको हो ।

छत्रेश्वरी गाउँपालिकाको समन्वयमा, आइएम स्विडिस डेभलपमेन्ट पार्टनर र दलित विकास समाज सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर ४ स्थित हारिचारमा विहिबारदेखि १० जना महिलाहरुले तालिममा थप सीप हाँसिल गर्दैछन् । यस्तै गत आइतबारदेखि कपुरकोट गाउँपालिकामा पनि १० जना युवा महिलाहरुले आआफ्नो टोलमा तालिम लिइरहेको आर्थिक तथा सामाजिक न्यायका लागि समूदाय परिचालन कार्यक्रम सल्यानका संयोजक गुमानसिंह नेपालीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरूले सिप सिकेर समाजमा परिवर्तन ल्याउन सक्ने भन्दै उनीहरूलाई उद्यमशिलता तर्फ अग्रसर गराउन आवश्यक रहेको बताइन् । वडा अध्यक्ष छविलाल खत्रीले हाललाई १० जना महिलालाई तालिमको अवसर दिएको र उनीहरूले व्यवसाय सञ्चालन गरेको हेर्न चाहेको उल्लेख गर्दै आगामी दिनमा अझै यस्ता अवसरहरू ल्याइने बताए ।

हारिचारमा भएको तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तुलसा वि.क., वडा सदस्य शान्ता उपाध्याय, दलित विकास समाजका कार्यसमिति सदस्य शान्ता नेपाली लगाएतको सहभागिता रहेको थियो ।

यसअघि विभिन्न अवसरबाट ३ महिनाको सिप तालिम पूरा गरिसकेका महिलाहरुले अब १ महिनाको ताजा सिप तालिम र व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यवसाय थाल्ने इच्छा व्यक्त गरेपछि यो तालिम सुरु गरिएको हो । तालिमका लागि आवश्यक कपडा सहित सम्पूर्ण सामग्रीसहित सिलाई मेसिन पनि कार्यक्रमबाट उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार