रोल्पाको होलेरीमा होलेरी कृषि हाटबजार फेरी सञ्चालनमा आउने भएको छ ।

लामो समय देखि बन्द रहेको हाटबजार गत आर्थिक वर्षबाट रुन्टीगढी गाउँपालिका र बिभिन्न गैर सरकारी संघ सस्थाको आर्थिक तथा प्राबिधिक सहयोगमा हाटबजार सञ्चालनमा आएको हो ।

गत वर्ष ५० करोडकाे तरकारी बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हाटबजारबाट १३ करोडको मात्र कारोबार भएको होे । हाटबजार लागेको पहिलो वर्ष भएको र सिजन भन्दा केही ढीलो गरि हाटबजार लगाइएको हुदा लक्ष्य अनुसारको कारोबार नभएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । बन्द भएको धेरै समय पछि सञ्चालन भएको हाटबजार भएको हुदा केही चुनौति थिए । तर चुनौति हुदा हुदै पनि चुनौतिकै बीचबाट हाटबजार सफल भएको अध्यक्ष पुनको भनाइ छ।

तरकारी उत्पादन कम र सिजन सकिएको हुदा केही समय हाटबजार बन्द गरिएको थियो । तरकारी हाटबजार बन्द गरिए भए पनि उक्त हाटबजारबाट खसी बोका हाटबजार सञ्चालन हुदै आएको थियो । यस आर्थिक वर्ष २०८१ को हाटबजार यही जेठ ३० गतेबाट लाग्ने होलेरी कृषि हाटबजार सञ्चालक समितिका अध्यक्ष चन्द प्रकाश महराले बताए ।

तरकारी संकलनका लागि स्टल लिन चाहानेले जेठ २७ गते सम्म सम्पर्क गर्न समेत अनुरोध गरेका छन भने समितिको नियम बिपरित कुनै किसान वा व्यापारीले हाटबजार भन्दा बाहिर बाट तरकारी किन बेच कार्य गरेमा १५ हजार जरिवाना गरिने समेत जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार