बैशाख २८, सल्यान – जिल्लाको कपुरकोट गाउँपालिकाले बुधबार आयोजना गरेको कृषि सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम १२ बुँदामा सहमति गरि सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले डुप्लीकेशन नहुँने गरि उत्पादनमा जोड दिने खालका कार्यक्रम ल्याउने बताए । उनले थोरै जमिनमा पनि धेरै तरकारी खेती गर्न सकिने गरि नयाँ अभ्यास गर्नुपर्ने बताउँदै सल्यान जिल्ला बेमौसमी तरकारी खेतिले मात्र परिचित भएकाले अब बाह्रैमास मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुपर्ने जनाए ।
मन्त्री शर्माले कपुरकोटको तरकारी भए जस्तै जिल्लाका अन्य पालिकामा पनि तरकारी उत्पादनलाई बढवा दिएर ब्रान्डीङ गर्नुपर्ने बताए । जसको लागि उत्पादन बढाउन माटो परिक्षणलाई जोड दिने, किसानलाई तालिमको व्यवस्था गर्ने र प्रबिधिमा जोड्ने खालको कार्यक्रम ल्याउने उनको भनाइ छ ।
बेमौसमी तरकारी खेतीको विस्तार र बजारीकरण सम्बन्धि भएको बृहत् अन्तरक्रिया कार्यक्रममा सल्यानका १० पालिका सँगै रोल्पाका त्रिवेणी गाउँपालिका र रुन्टिगढी गाउँपालिकाको समेत उपस्थित रहेको थियो ।
उपस्थित सबै स्थानीय तहका प्रमुख, उप-प्रमुख, गा.पा. अध्यक्ष, उपाध्यक्ष एवम् कृषि सम्बन्धि सरोकार राख्ने सम्पुर्ण व्यक्तिहरुबिच भएको बृहत छलफलपछि बेमौसमी तरकारी, जडिबुटी, फलफूल, दुग्धजन्य पदार्थ र पशुजन्य उत्पादनको खेती बिस्तार, बजारीकरण गरि यस क्षेत्रका किसानहरूको जिवनस्तरमा सुधार ल्याउन, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन १२ वटा बुँदा रहेको विषयहरूमा सहमत भई कार्यान्वयन गर्न हस्ताक्षर सहित प्रतिवद्धता समेत गरे ।
जुन प्रतिबद्धताहरु निम्नानुसार रहेका छन :-
१) हामी सम्पूर्ण सरोकारवालाहरू बेमौसमी तरकारीका लागि कपुरकोट ब्राण्ड र अन्य जडिबुटी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थहरू, पशुजन्य उत्पादन र अन्नबालीको, हावापानी, भूगोल र व्यवसायीकरणको सम्भाव्यता अनुसार विशेष उत्पादन क्षेत्र निर्धारण गरि स्थान विशेष उत्पादन परिमाणको आधारमा बाण्डीङ गरी उत्पादन, प्रबर्द्धन र निर्यात गर्न सहमत छौं ।
२) हामी सम्पूर्ण सरोकारवालाहरू सबै पालिकाहरूमा पालिका स्तरीय हाटबजार समिति र सो अन्तर्गत संकलन केन्द्रहरू स्थापना गर्न र सबै हाटबजार समितिहरू कपुरकोट हाटबजार समितिको समन्वय र सहकार्यमा रही कृषि उपज निर्यात गर्न सहमत छौं ।
३) हामी सम्पूर्ण सरोकारवालाहरू कृषि एम्बुलेन्स र ठूला शहरहरूमा कपुरकोट तरकारी स्टल स्थापना गरी कपुरकोट हाटबजार व्यवस्थापन समितिले व्यवस्थापन गर्ने गरि एकद्वार प्रणाली मार्फत निर्यात प्रवर्द्धन गर्न सहमत छौं ।
४) हामी सम्पूर्ण सरोकारवालाहरू परम्परागत कृषि अनुदानमा परिवर्तन गरि उत्पादनमा आधारित अनुदान प्रणाली कार्यान्वयन गर्न, प्रदेश सरकारले नमुना कार्यविधी बनाई सबै पालिकाहरूले समर्थन मूल्य कोष कार्यविधि तर्जुमा गरि कोषको संचालन गर्न, एकरुपता सहितको न्यूनतम समर्थन मूल्य तोक्न सहमत छौं ।
५) हामी सम्पूर्ण सरोकारवालाहरू किसानलाई कुनैपनि दायित्व नपर्ने गरी कृषि बाली उपजमा निर्यात कर (पालिकामा बाली विशेष कायम गर्न र कपुरकोट हाटबजारलाई निर्यात प्रवर्द्धन, बजारीकरण र व्यवस्थापनको लागि प्रति के.जी. २५ पैसा निर्यात कर) निर्धारण गर्न सहमत छौं ।
६) हामी सम्पूर्ण सरोकारवालाहरू कपुरकोट हाटबजार समितिमा अन्य पालिकाका मूल हाटबजार समितिका अध्यक्षहरू स्वतः सदस्य रहने गरि एकिकृत कृषि उपज निर्यात गर्न हाटबजार समन्वय समिति गठन गर्न सहमत छौं ।
७) हामी सम्पूर्ण सरोकारवालाहरू सबै पालिकामा माटो परिक्षण गर्न, प्राङ्गारिक मल उत्पादन प्रवर्द्धन गर्न र निर्यात हुने कृषि उपजमा प्रादेशीक विषादी प्रयोगशालाको संचालन गरि विषादी परिक्षण मार्फत (निश्चित सिमाभित्र रही विषादी अवशेष मात्रा सिमित गर्न) तथा प्राङ्गारिक मलको प्रयोगलाई बढवा दिँदै गुणस्तर चिन्ह राखि निकासी गर्न सहमत छौं ।
८) हामी सम्पूर्ण सरोकारवालाहरू कृषिमा नविन प्रविधि विकास गर्न,कृषि पुर्वाधारहरु (चिस्यान केन्द्र, टनेल निर्माण, यान्त्रिकीकरण र सँकलन केन्द्र स्थापना) तथा मल, बीउ, बिषादी लगायत कृषी क्षेत्रमा लगानी बढाउन सहमत छौ ।
९) हामी सम्पूर्ण सरोकारवालाहरू स्वदेशि तथा बिदेशी अनुसन्धानकर्ताहरुलाई सल्यानमा भित्र्याएर कृषी क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने बाताबरण सृजना गर्न सहमत छौं ।
१०) हामी सम्पूर्ण सरोकारवालाहरू कृषि क्षेत्रको आधुनिकिकरणका लागि समन्वय सहकार्य गरी अगाडि बढ्न सहमत छौं ।
११) हामी सम्पूर्ण सरोकारवालाहरू बेमौसमी तरकारीको मूल्य श्रृङ्खला अवधारणामा काम गर्ने गरी सम्पूर्ण सरोकारवाला निकाय विच समन्वयमा कार्यक्रम संचालन गरि उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिन सहमत छौं ।
१२) हामी सम्पूर्ण सरोकारवालाहरू रसायनिक मलखादको अभाव परिपूर्तिका लागि सल्यान जिल्लामा प्राप्त हुने रसायनिक मलको कोटालाई पर्याप्त मात्रामा वृद्धिका लागि सम्बन्धित निकायमा जोडदार माग गर्न सहमत छौं ।
कार्यक्रममा १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, कृषि शाखा प्रमुख तथा प्रतिनिधि, कृषि सम्बन्धि सरोकार राख्ने सम्पुर्ण व्यक्तित्वहरु, कपुरकोट गाउँपालिका निवर्तमान तथा वर्तमान जनप्रतिनिधि, पत्रकार, बुद्धिजीवी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली राखेका हुन । यस्तै कार्यक्रममा कृषि सम्बन्धि अन्तरक्रियाको कार्यपत्र गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण जिवराज के.सी.ले गरेका थिए ।