असार ३ काठमाडौ – विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप-महानगरपालीका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१४ हाँडीगाउँ बस्ने ३२ वर्षीय रूपेश कार्की रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।

कार्कीले विदेश पठाइदिन्छु भन्दै पोखरा महानगरपालीका-१६ बिरौटाकी २२ वर्षिय एक महिलालाई क्यानडा पठाइदिन्छु भन्दै ११ लाख ७१ हजार र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाकी २८ वर्षिय एक महिलालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ९ लाख ७५ हजार ठगी गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

कार्कीले यसैगरि अन्य व्यक्तिहरूबाट समेत ठगी गरेकाे हुन सक्ने भन्दै त्यस्ता काेहि पिडित भए परिसरमा सम्पर्क गर्न समेत आग्रह गरेकाे छ।

उनी विरुद्ध मुलुकी अपराध ऐन २०७४ कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनकाे म्याद गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार