चैत ४ राेल्पा – अखिल क्रान्तिकारीको नाम लिँदै स्थानीय युवाहरुले बिहिबार रोल्पामा बाहिरबाट पढन आएका विद्यार्थीलाई निर्घात रुपमा कुटपिट गरेका छन।

रोल्पामा पहिले देखि नै अन्य विद्यार्थी संगठनमा नलाग्न विद्यार्थीहरुलाई धम्क्याउने गरिएको घाइते पक्षका विद्यार्थी नेताहरुले बताए । बिहीबार रोल्पा नगरपालिका ७ माडिचौरमा स्थानीय युवाहरुकाे छ जनाकाे समुहले आफुहरु अखिल क्रान्तिकारी र याे ठाउँ आफ्नाे कब्जामा रहेकाे भन्दै टाेले गुण्डाकाे संज्ञा दिदै आफुहरु माथि आक्रमण भएको घाइते खेमराज शर्मा र लिकी शेर्पा बताउँछन्। घाइते दुवै जना नेविसंघ निकट रहेकाे बताइएको छ।

चितवन रामपुरको कृषि विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित रोल्पाको कृषि कलेजमा क्रान्तिकारी बाहेक अन्य विद्यार्थी संगठनको उपस्थिति हुन नहुने क्रान्तिकारीहरुले बारम्बार भन्दै र धम्क्याउँदै आएको एमाले अखिलका स्थानीय नेता सुनिल ढुंगानाले बताए ।

ढुंगानाका अनुसार पहिले क्रान्तिकारीहरुले धम्क्याउने र हातपातसम्म गर्थे । अहिले भने उनीहरुको आवरणमा टोले गुण्डाहरुकाे रुपमा नै आक्रमणमा उत्रेका हुन् । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमासमेत शान्ति सुरक्षाको बारेमा जानकारी गराउँदा एकपक्षीय व्यवहार गरिएको नेपाल विद्यार्थी संघ र एमाले अखिलले जनाएको छ ।

अति भएपछि आज विज्ञप्ति जारी गरिएको ढुंगानाले बताएका छन् । विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई हदैसम्म कारबाहीको माग गरिएको छ । साथै क्याम्पसमा अध्ययनको निम्ति वातावरण बनाउनसमेत माग गरिएको छ ।

उक्त घटनामा माओवादी जिल्ला नेता सुरेन्द्र थापाका छोराको समेत संलग्नता रहेको बताइन्छ । घाइते पक्षका विद्यार्थीहरुले मोटरसाइकल चढेर र हेल्मेट लगाएर आएकाले को को थिए भनेर चिन्न नसकिएको तर, अधिकांश स्थानीय टोले गुण्डा भएको उनीहरुको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय, रोल्पाले भने उक्त घटनाबारे कार्यालयलाई पूर्ण जानकारी भएको बताएको छ । फागु खेल्दै हिँडेको समूह र क्याम्पसबाट बाहिरिँदै गरेका विद्यार्थीहरुबीच फागुको निहुँमा झगडा भएको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न भनिएका आरोपित दुई जनालाई पक्रेर ल्याइएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रहरीले दुई जनालाई पक्रेको पुष्टि गरेका छन् । उनले भने, ‘फागुको निहुँमा भएको झगडालाई राजनीतिक रंग दिने कोशिस भएको बुझिएको छ ।’

अहिले दाेषिलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन। प्रशासनले दाेषिलाई कारबाही नगरेसम्म आफुहरुले दबाब दिइरहने र परि आउने जस्तोसुकै अवस्थाकाे जिम्मा कलेज, विश्वविद्यालय, स्थानीय निकाय र प्रशासनले लिनुपर्ने समेत चेतावनी विद्यार्थीहरुले दिएका छन।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार