कोरोना भाइरसका कारण सिर्जित आर्थिक चुनौती र बेरोजगारीले हैरान भएका विभिन्न देशका जनताहरुले सरकारविरुद्ध सडकमा आक्रोश पोख्न थालेका छन् ।

सुशासनको कमी र महामारी नियन्त्रणमा समस्या देखिएको भन्दै इजरायल, सर्बिया, ग्रिसलगायत विभिन्न देशमा प्रदर्शन भएको हो । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारले दुई महिनाअघिसम्म स्थितीलाई नियन्त्रणमा राखेपनि अहिले अवस्था निकै खराब छ ।

अहिले यहाँ ४६ हजारभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, ३ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गत शनिबार तेल अभिभमा दशौं हजारले प्रदर्शन गरेका थिए भने मंगलबार जेरुसलेमस्थित नेतान्याहुको निवासबाहिर हजारौंले विरोध प्रदर्शन गरे ।

प्रदर्शनको क्रममा शुक्रबार पनि रोकिएको छैन । कोभीड–१९ महामारीलाई नियन्त्रणमा लिन सरकार असफल भएको भन्दै प्रदर्शनकारीहरुले शुक्रबार विरोध जनाए । उनीहरुले नेतान्याहुको भ्रस्टाचारविरुद्धको सुनुवाईको हवाला दिदैं सरकार असफल भएको जिकिर गरे ।

‘हामी प्रजातन्त्र बचाउँदैछौं, हामी भ्रस्टाचारविरुद्ध लड्दैछौं,’ उनीहरुले बोकेका प्लेकार्डमा उल्लेख थियो, ‘कोरोनाको आवरणमा देखिएको निरङकुशता मान्य छैन ।’

ब्ल्याक फ्लाग मुभमेन्टको ब्यानरमा यहाँ आन्दोलनकारीहरु सडकमा ओर्लिएका छन् । ब्ल्याक फ्लागका प्रवक्ताले नेतान्याहुको राजिनामा गरेका छन् । उनले भनेका छन्, ‘भ्रस्टाचार गरेको छैन भनेर अदालतमा आफ्नो रक्षा गर्न ध्यान केन्द्रीत गर्नुको साटो देशको समस्या समाधान गर्नसक्ने व्यक्तिलाई मार्गप्रशस्त गर्न उनले राजिनामा दिनुपर्छ ।’

सर्बियामा गत सातादेखिको हिंसात्मक प्रदर्शन अझै रोकिएको छैन । कोरोना भाइरससँग लड्न यहाँ सरकारले कफ्र्यु लगाउने योजना बनाएको थियो, तर जनविरोधपछि यो योजनाबाट सरकार पछि हट्यो । यद्यपी, १० जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध छ ।

राती ९ बजेदेखि बिहान ६ बजेसम्म सबै सेवा र पसलहरु बन्द गर्न भनिएको छ । यसका बाबजुद बेलग्रेडसहित धेरै शहरमा भेला भएर जनताले राष्ट्रपति अलेक्यान्द्रर भुकिक र सरकारको विरोध गरेका छन् ।

यसअघि जुनमा चुनाव गराउनका लागि चाडैं लकडाउन खुकुलो गरेको र कोरोना नियन्त्रणमा लापरवाही गरेको उनीहरुको आरोप छ , यस अवधिमा सरकारले नाइट क्लब, ठूलो भेला र बारहरु खोल्न छुट दिएको थियो । यस निर्वाचनलाई अधिकांश विपक्षीहरुले बहिस्कार गरेकाले सरकारले राम्रो बहुमतसहित जित्यो ।

यद्यपी, मतदान सकिएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको र अहिले सरकारले कडाई गर्न खोजेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । सर्बियामा २० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ र ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । लेबनान, बुल्गेरिया, ईराक, भारत र अमेरिकामा पनि यसअघि प्रदर्शन भइसकेको छ ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार