श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव को सचिवालयमा कार्यरत चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेका छन् ।

पीडितले दिएको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरी ले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेका छन् र उनीहरूको खोजी तीव्र पारिएको छ ।

पक्राउ परेका आलमलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार