कार्तिक १७ बुटवल – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई शान्ति र भयरहित बनाउन लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका अतिसंवेदनशील मतदान स्थलमा थप सुरक्षा व्यवस्था गर्ने भएको छ।

त्यसका लागि सम्बन्धित जिल्लाकाे जिल्ला स्तरिय सुरक्षा समितिले आवश्यक थप सुरक्षा व्यवस्था थप गर्ने अवस्था देखिए प्रदेश सरकारलाई माग गर्ने र साेहि अनुसार प्रदेश सरकारले व्यवस्था गरिदिने भएको हाे।

बुधबार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले अस्थाई मुकाम बुटवलमा गृहमन्त्री बालकृष्ण खाँडकाे उपस्थितिमा प्रदेश स्तरिय निर्वाचन सुरक्षा अवस्था र थप सुरक्षा रणनीति अपनाउने योजना सहितकाे आयाेजना गरिएको गाेष्ठीबाट उक्त निर्णय गरिएको हाे।

त्यसैगरि निर्वाचन सुरक्षाका लागि प्रदेशका प्रमुख सचिवको संयाेजकत्वमा सदस्य सचिवमा आन्तरिक मामिला सचिव एवं प्रदेश र जिल्ला सुरक्षा प्रमुख सदस्य रहेकाे प्रदेश कमान्ड पोस्ट निर्वाचन सेल पनि गठन गरिएको छ। गठन गरिएको प्रदेश स्थित १२ वटै जिल्लामा निर्वाचनसँग सम्बन्धित सुरक्षा एवं आचारसंहिता पालनाबारे अनुगमन र निर्देशन गर्ने
छ।

उक्त गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार