असार ३०, सल्यान – सल्यानको बागचौर नगरपालिका सल्यानले पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९/८० का लागि ७९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । ९ औं नगरसभाबाट नगरपालिकाको बजेट सर्वसम्मत पास भएको हो ।

आ.व. २०७९/८० को बजेट वक्तव्य पेश गर्दै आयतर्फ बजेटको स्रोत संघीय सरकारबाट वित्तीय समानीकरण संघको अनुदान १२ करोड ८४ लाख, प्रदेश अनुदान १ करोड ३१ लाख ९२ हजार,सशर्त चालू पुँजीगत-संघ तर्फ ३० करोड ७ लाख, सशर्त चालु-प्रदेश तर्फ २ करोड २३ लाख ७२ हजार, सशर्त पुँजीगत प्रदेश तर्फ २ करोड, आन्तरिक आय १ करोड, आन्तरिक आय मौज्दात १५ करोड ४४ लाख २ हजार ५ सय ५८, लगायतको अनुमान गरेको नगर प्रमुख जनकराज गौतमले बताए ।
कार्यक्रम सभाध्यक्ष समेत रहेका नगर प्रमुख गौतमले पुर्वाधार विकास, बालबालिका, महिला, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, शिक्षा, युवा तथा खेलकुदको विकास, स्वास्थ्य तथा पोषण, सुशासन तथा संस्थागत विकास, वातावरण तथा विपद् व्यवस्थापन, आर्थिक विकास, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, धार्मिक, प्राकृति, सांस्कृतिक, पुरातात्त्विक सम्पदाको विकास, संरक्षण र प्रवर्द्धन र उद्यमशिलता अभिवृद्धि गरि स्वरोजगार सृजना तथा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरि रोजगारी र उत्पादन वृद्धि मार्फत आर्थिक विकास गर्नेमा प्रमुख प्राथमिकता रहेको बताए ।
यस्तै नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गरेको बजेटमा चालू खर्च तर्फ रु ४५ करोड ५० लाख ७० हजार तथा पुँजीगत खर्च तर्फ रु ३४ करोड २८ लाख ९२ हजार, पूर्वाधार विकास तर्फ रु ११ करोड ७८ लाख ५२ हजार, शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक विभेद न्यूनिकरण लगायतका क्षेत्रहरुलाई समेट्ने गरी समाजिक विकास तर्फ रु ७ करोड ६६ लाख ६० हजार, आर्थिक विकास तर्फ रु ६६ लाख ८० हजार, विपत् व्यवस्थापन तर्फ रु १ करोड र सुशासन, न्याय तथा कानुन, वन, वातावरण तर्फ ४८ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले सहजीकरण गरेको सभामा स्वागत मन्तब्य स्वास्थ्य शाखा प्रमुख हरि कठायत राखेका थिए भने बागचौर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकारहरु, नगरपालिकामा कार्यरत कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार