असार १५, सल्यान – सल्यानको बागचौर नगरपालिकाको ११ वटा वडामा महिला नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम सम्पन्न भएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सल्यानको आयोजना र बागचौर नगरपालिकाको सहयोगमा बागचौर नगरपालिकाको १२ वटै वडामा संचालन गरिने तालिम ११ वटा वडामा सम्पन्न भैसकेको छ भने बाँकी १ वटा वडामा पनि भोलि नै संचालन गरिने छ ।
महिला अधिकार, बालविवाह र बहुविवाहको कानु अवस्था बारे जानकारी गराउने, महिला, नेतृत्वको विकास गर्ने साथै घरेलु हिंसा न्युनिकरण सम्बन्धि छलफल गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ ।
नेतृत्व, नेतृत्वका गुणहरु, लिङ्ग र लैङ्गिकता सम्बन्धि प्रस्तुतिकरण मनोसामाजिक परामर्शकर्ता सुधा आचार्यले गरेकी थिईन भने महिला अधिकार, बालविवाह, बहुविवाह र कानुनी व्यवस्था सम्बन्धि प्रस्तुतिकरण अधिवक्ता सि.पी. वलीले गरेका थिए ।
बुधबार अर्थात् आज बागचौर नगरपालिकाको वडा नं. १ मा संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिकाकि नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीले महिला नेतृत्व तथा संस्थागत क्षमता विकास तालिमले महिला, दिदिबहिनीहरुका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताईन । उनले यस खाले क्षमता अभिवृद्धिका तालिमहरु समग्र महिलाहरुको लागि आवश्यक भएको र आगामी दिनहरुमा पनि महिलाको नेतृत्व विकासका लागि ठाउँ अनुसार आवश्यकताहरुलाई मध्यनजर गरि सिपमुलक तालिमहरुको पनि व्यवस्था गर्ने बताईन ।
वलीले हिंसात्मक कार्य महिलामा मात्रै नभई पुरुषमा पनि हुने भएकाले यस्ता खालका विभेद र समस्यामा नर्पन आफुबाट सकारात्मक कुराको विकास गर्न सबैमा आग्रह गरेकी छन । उनले अहिलेको समय सबै कुरामा परिवर्तन भएको समय बताउँदै आफुहरु पनि समयसँगै परिवर्तन हुन सिक्नु पर्ने बताईन । वलीले आफू बागचौर नगरपालिकाको उप-प्रमुखसँगै न्यायिक समितिको संयोजक पनि भएको भन्दै प्रत्येक वडामा मेलमिलाप केन्द्र समेत गठन गर्ने निति बनाएको बताईन । उनले यो सँगै महिलाहरुको जीवनस्तर कसरी माथि उठाउने भन्ने विषयमा सदैव लागि पर्ने जानकारी गराईन ।
वडा नं. १ का वडा सदस्य खिमलाल बस्नेतको अध्यक्षतामा सुरु भएको तालिममा करिब ३५ जना महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।