बैशाख २९ दाङ – नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले निगरानीमा राख्ने भन्दै नियन्त्रणमा लिएको छ।
स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने हेतुले अघि बढिरहेको बेला बास्तोला संयाेजक रहेकाे नेकपा (बहुमत) निर्वाचनकाे विरोध रणनीति लिएकाे र निर्वाचन असफल बनाउन उक्त पार्टीले विभिन्न कार्यक्रम पनि गर्ने भनेपछि उनी माथि निगरानी बढाउनु परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बास्तोलालाई कुनै आराेपमा नभइ निर्वाचन शान्तमय रुपमा बनाउने वातावरण गर्न र विराेधी गतिविधि नगर्न छलफलकाे लागि बिहीबार बिहान भालुबाङबाट ईलाका प्रहरी कार्यालय भालुबाङकाे प्रहरी टाेलिले राेकेर छलफलकाे लागि बाेलाएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।
बास्तोलाले प्रहरी समक्ष आफू सुर्खेत जान लागेकाे बताएका छन। निर्वाचन सफल बनाउन अप्रिय घटना नहाेस र मतदाताहरु त्रसित नहुन भन्ने उद्देश्यले बास्तोलालाई छलफलकाे लागि मात्रै लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
`चुनाव विराेधी गतिविधि गर्ने भन्ने सुन्नमा आएपछि र उहाँ पाेखराबाट दाङ आउदै गरेकाे खबर पाएपछि हामीले सुरक्षाकाे हिसाबले उहाँसंग सकारात्मक छलफलकाे लागि लिएकाे हाे यसलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा लियाे भन्न मिल्दैन, निर्वाचनको लागि सुरक्षाका हिसाबले निगरानी जाे काेहीलाई पनि गर्न सकिन्छ।´ प्रजिअ रेग्मीले भने।
नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपा भित्र निर्वाचनमा भाग लिने वा नलिने भन्ने ठाेस निर्णय नहुदा दुई पक्षमा देखिए पछि निर्वाचनमा जान नहुने भन्ने पक्षहरुले नेकपा नै फुटेर बस्ताेला संयाेजक रहने गरि नेकपा (बहुमत) गठन गरेकाे हाे। त्यसयता विप्लव पक्ष वा निर्वाचनमा जानुपर्छ भन्ने पक्षले देशका विभिन्न ठाउँबाट स्वतन्त्र भन्दै उम्मेदवारी दिएका छन भने निर्वाचन जान हुदैन भन्ने पक्षले पार्टी नै अलग गरेर निर्वाचन विरुद्ध विभिन्न गतिविधि गर्ने जनाउदै आएका छन।