बैशाख २८ बुटवल – रातकाे समयमा सुन पसलमा चोरी गरेर फरार भएका तीन जना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौँक लखनउ चाेक उत्तर प्रदेशका ३६ वर्षीय मोहसिंह अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कालोनी लखनउ उत्तर प्रदेशका २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक–२ निशातगञ्ज महानगर लखनउ उत्तर प्रदेशका २२ वर्षीय मो सारीक रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गत १३ गते राति बुटवल उपमहानगरपालिका वडा -६ विपि चोकमा रहेकाे दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट नगद सहित करिब तीन करोड बढीको सुनका गरगहना चोरी भएपछि प्रहरी खाेजतलास गरिरहेकाेमा उनिहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बेलुका साढे ५ बजेतिर रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका –४ महुवारीमा सवारी चेकजाँचकाे क्रममा सुन सहित पक्राउ गरिकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताए।

खुनगाई–कालीदह सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको भारतीय नम्बर प्लेट यु.पी. ३२ एल.डब्लु ३१५१ वागोनरमा सवार भएर १०/१० ग्रामको सुनको बिस्कुट २ थान, २० ग्रामको सुनको बिस्कुत १ थान, गरगहना गालेर डल्लो बनाएको सुनको ढिक्का थान १ थान, पैसा आकारको सुनको सिक्का १ थान मोवाई ३ थान, १०० दरको ६० थान भारतीय रुपैंया, उनिहरुकाे भारतीय आधार कार्ड र एटिएम कार्ड बरामद गरेकाे र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार