असाेज २१ जाजरकोट – जिल्लाकाे जुनिचाँदे गाउँपालिमा औंलखोलामा बुधबार दिउसो जीप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन।

जिल्ला सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ जादै गरेको यात्रुवाहक जीप औलखोलाको भीरबाट खसेर दुर्घटना भएको भएको हो । झण्डै पाँचदेखि सात सय मिटरसम्मको उचाइ रहेकाे उक्त भीरबाट खसेर भे १ ज ९३५ नम्बरको जीप खोलामा परेको थियो । उक्त जीपलाई खोलाले बगाउदा जीपका सवारहरुको घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

जिल्ला प्रहरी प्रमुख श्रेष्ठले दिएको जानकारी अनुसार उक्त जीपमा सवार जुनीचाँदे गाउँपालिका–११ का वडाअध्यक्ष अमरबहादुर शाही सहित वडा नम्बर ११ कै कोर्ताङ्ग निवासी कृति बहादुर शाही,कोर्ताङ्गकै अहेव खेमराज शाही,वडा नम्बर ५ जजायका अहेव कृष्ण बहादुर शाही र मटेला निवासी मालिका बस्नेत रहेकाेे घटनास्थलमै मृत्यु भएको छ। घटना स्थलबाट दुई सय मिटर तल एक जनाको लास फेला परेको तर, सनाखत हुन नसकेको प्रहरी प्रमुख श्रेष्ठको भनाई रहेको छ । स्थानीका अनुसार फेला परेको लास मेसु निवासी लालबहादुर बुढाको भएको बताईएको छ । दुर्घटनाबाट बेपत्ता भएका एक जनाको खोजीकार्य भई रहेको जनाईएको छ ।

बेपत्ता भएका एक जनाको नाम अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनामा परि गम्भिर घाईते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारको लागि गाउँपालिकाको गाडीमा सुर्खेत तर्फ लगिदै गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार वडाअध्यक्ष शाही गाउँ कार्यपालिकाको बैठकमा भाग लिन सदरमुकामबाट जुनीचाँदेको पराले तर्फ जादै गर्नु भएको थियो । गाउँपालिकाले खोलेको स्वास्थ्य बिज्ञापनको परिक्षा गराउनका लागि स्वास्थ्यकर्मीहरु पनि त्यसै जीपमा पराले तर्फ जादै गरेका थिए । मटेलाकी मालिका बस्नेत भने, गाउँपालिकाले लिन थालेको स्वास्थ्य परिक्षामा सहभागी हुन भनेर पराले तर्फ जादै गरेकाे बताइएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार