असाेज २१ सल्यान – कर्तव्य  ज्यान मुद्दाका फरार प्रतिवादी सल्यान जिल्ला साविक कुपिण्डे गा.वि.स. ७ बस्ने ३६ वर्षिय हिम बहादुर बोहरालाई फरार रहेको करिब ११ वर्ष पछि जिल्ला प्रहरी कार्यलय सल्यानसंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ ।

मिति २०६६/०५/२७ गते बेलुका ४:०० बजेको समयमा सल्यान जिल्ला साविक कुपिण्डे गा.वि.स वडा नं १ को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिवल खेल्ने क्रममा विवाद हुँदा साबिक कुपिण्डे-७ बस्ने १८ वर्षिय रामलाल बि. क. लाई पेटमा छुरा प्रहार गरी हिम बहादुर बोहरा फरार भएका थिए।

उक्त छुरा प्रहारबाट घाइते रामलाल बि. क. को उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

वारदात मिति देखिनै फरार रहेका बोहरा बाँकेका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको गोप्य सूचनाका आधारमा फरार रहेको ११ बर्षपछि नेपालगन्ज उप-महानगरपालिका वडा नं १०, बाँकेबाट मिति २०७७/०६/२० गते मंगलबार निजलाई पक्राउ गर्न प्रहरी टोली सफल भएको हो।

सम्मानित जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद लिई निजलाई प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार