चैत १९ कपिलवस्तु – म्यादी प्रहरी भर्ना हुुनको लागि तौल कम भएपछि एक युवाले गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिएकाे पाइए पछि प्रहरीले नियन्त्रणमा लिएकाे छ।

युवकको साथबाट म्यादी प्रहरी छनाेट टाेलीले १ किलोको ढक र एक थान मोबाइल पनि बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए।

वास्तविक तौल ४८ किलो रहेको र भर्ती हुन न्यूनतम ५० किलो तौल मापदण्ड रहेकाले तौल बढाउनकै लागि ती युवाले ढक साथमा ल्याएकाे र उनी माथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

कपिलवस्तुकाे लागि पहिला प्रहरी प्रधान कार्यालयबाट जम्मा २३८४ जनाकाे दरखास्त माग गर्न परिपत्र गरेकाे फेरि पछि उक्त परिपत्र संशोधन गरि जम्मा १९२९ जनाकाे लागि दरखास्त माग गर्न निर्देशन आएकाे र अहिले छनाेट प्रक्रिया अन्तर्गत स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीकाे नतिजा सार्वजनिक भइएसम्म १९८४ जना सफल रहेकाेमा भाेलि आइतबार बिहान ७ बजे लिखित परीक्षा लिने तयारी भएको प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार