चैत १४ दाङ – शालिक भत्काएकाे करिब १६ वर्षपछि दाङकाे तुलसीपुरमा राजा वीरेन्द्रको शालिक पुन: स्थापना गरिएको छ।

जनयुद्धका क्रममा विद्रोही पक्ष तत्कालीन विद्रोही माओवादीले २०६२/०६३ को जनआन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरेर पुर्णरुपमा ध्वस्त पारेका थिए।

त्यसयता शालिक बिनाकाे नामले मात्रै सिमित रहेको वीरेन्द्र चाेकमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को पहलमा शालिक पुनःस्थापनकाे सहयाेग आह्वान गरेपछि साेहि अनुसार सहयोगी दाताहरुले स्व:इच्छाले दिएकाे सहयोग रकमबाट पुनःस्थापनकाे काम गरिएको तुलसीपुर उपमहानगरपालिका -५ का वडा अध्यक्ष वीरेन्द्र शाहले बताए।

यसअघि उपमहानगरपालिकाबाट कार्यपालिकाकाे निर्णय अनुसार दुईपटक मर्मतकाे लागि थाेरै काम गरिए पनि पुनःस्थापनकाे लागि भने स्थानीय सरकारले कुनै चासाे नदिएपछि वडा अध्यक्ष शाहले आफ्नै वडाबाट निर्णय गरि सहयाेगकाे लागि साेहि बाेर्ड राखेर आर्थिक संकलन गर्न सुरु गरिएकाे हाे।

इतिहासलाई जिउदाे राख्न नै शालिककाे खाँचो रहेकाले इतिहास मेटिन नदिन करिब ३ लाख बराबरको रकममा काठमाडौबाट राजा वीरेन्द्रको अर्धकद शालिक किनेर ल्याएकाे र यसमा कुनै सरकारी बजेट अर्थात जनताकाे कर नपरेकाे समेत वडा अध्यक्ष शाहले बताए।

यसलाई कुनै पार्टीगत तरिकाले नभएर सार्वजनिक सम्पत्ति र इतिहासकाे रुपमा साक्षी राख्न पुनःस्थापना गरिएकाे बताउदै विभिन्न ठाउँमा अरुकाे विभिन्न व्यक्तिहरुकाे शालिक राखिएको र राजा वीरेन्द्रको पनि राखिनु अनिवार्य भएको वडा अध्यक्ष शाहले बताए।

साथै राजा वीरेन्द्रको शालिक पुनःस्थापना भएपछि हाम्रो राजा प्राण भन्दा प्याराे छ, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश लगाएतका नारा समेत गुन्जिएका थिए।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार