चैत १२ सल्यान – कृषकहरुलाई विभिन्न प्रलोभनमा पारी अन्य कम्पनीको लाेगाे र कागजात समेत किर्ते गरि ठगी गरेकाे आराेपमा सल्यान प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा राेल्पा लिबाङ स्थित जलजला सिड कम्पनीका संचालक राेल्पा गंगादेव गाउँपालिका -३ बडाढुङ्गा  स्थायी ठेगाना भएका गंगाराम खत्री रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कृषि किङ र किसान मिनिटिलर (हाते ट्याक्टर) रु.७२००० मा उपलब्ध गराउने भनि जलजला सीड कम्पनी सँग सल्यान जिल्लाका कृषक समूहले सम्झौता गरी कृषक समूहले रु.३६,००० हाल्ने र बाँकी ५०% प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना इकाई जोनले अनुदान उपलब्ध गराउने भनि सहमति भएको र कृषक समूहले तिर्नुपर्ने रकम सोही बमोजिम पक्राउ परेका खत्रीकाे नाममा रहेकाे उक्त सिड कम्पनीमा हालिसकेको हुँदा संचालक खत्रीले कृषी किङ र किसानका हाते ट्याक्टरको सट्टा नँया किसान र हाईजिन एग्रोको ट्याक्टरहरुमा कृषी किङ र किसान हाते ट्याक्टरको लोगो अनाधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

उक्त नँया किसान र हाईजिन एग्रोको हाते ट्याक्टरहरु सम्झौता गरेको ट्याक्टरहरु भन्दा निकै सस्तो र गुणस्तरहिन रहेको भन्दै स्थानिय कृषकहरुबाट सूचना आएको र कृषी किङ नेपालको लागि आधिकारिक बिक्रेता रहेको डि.बि. ईन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनाधिकृत प्रयोग गरेको भनि लिखित जाहेरी दरखास्त समेत प्रहरीलाई आएपछि उक्त हाते ट्याक्टर वितरणको लागि चैत १० गते बिहान करिब १० बजेतिर प्रदेश ३-०१-००६ ख ४५ नम्बरको ट्रकमा लोड गरी ल्याई वितरण गरिरहेको अवस्थामा सल्यानकाे कपुरकोट गाउँपालिका वडा नं. -३ कपुरकोट बजारमा फेला पारी उक्त ट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पौडेलले बताए।

उक्त ट्रकमा चेकजाँच गर्दा कृषी किङ ब्राण्डको मिनिटिलर (हाते ट्याक्टर) मा Design by India लेखिएका ITEM 178 Diesel का मिनिटिलर (हाते ट्याक्टर) थान-६२, ITEM 173 Diesel का मिनिटिलर (हाते ट्याक्टर) थान- ३, Combine mill थान-१, Brush Cutter थान-७, Mobile -६० बोत्तल, Gear oil-७५ बोत्तल, Single induction Motor थान-१ र Brush Blade थान-२ फेला परेको पारी बरामद समेत गरिएको छ।

पक्राउ परेका खत्रीले उक्त कृषी सामाग्रिहरु ल्याई सल्यान जिल्लाका कृषक समूहलाई आफुले लाभ लिने नियतले झुठ्ठा लिखत कागज बनाई किर्ते गरी झुक्यानमा पारी बेईमानी पुर्बक ठगी गरेको पुष्टि भएपछि खत्री विरुद्ध ठगी तथा किर्ते गरेको कसूरमा जिल्ला अदालतबाट ७ दिनकाे म्यादथप गरी जिल्ला प्रहरी कार्यालयको सल्यानकाे हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

उक्त जलजला सिड कम्पनी पक्राउ परेका खत्रीले न‌ै राेल्पाकाे सदरमुकाम लिबाङमा लामाे समय देखि संचालन गरिरहेका छन। साेहि कम्पनीकाे नामबाट खत्रीले राेल्पामा पनि कृषि क्षेत्रमा विभिन्न प्राेजेक्टहरु समेत चलाउदै आएका छन।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार