चैत ४ संखुवासभा – श्रीमान श्रीमतीको घरायसी झगडा पछि माइतीमा बस्दै आएकि श्रीमतीलाई घरमा ल्याउन नक्कली प्रहरी परिचालन गर्ने र प्रहरी बन्ने दुईजना पक्राउ परेका छन।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-४ का ३० वर्षिय अर्जुन तामाङ र साेहि ठाउँ घरभई हाल ललितपुर बस्ने ३४ वर्षिय रमेशकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

गत फागुन २७ गते खाँदबारी नगरपालिका–८ मा माइतीमा बस्दै आएकि पक्राउ परेका रमेशकुमारकि श्रीमती प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका ४ जनाले धम्काउदै अपहरण शैलीमा घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर प्रमिलाका पति तामाङलाई जिम्मा लगाउने काम ती नक्कली प्रहरीले गरेकाे खुलेकाे छ।

तामाङले काठमाण्डौबाट भाडामा प्रहरीका ४ जोर चुस्ता र बुट तथा ४ जना मानिसलाई खाँदबारी ल्याई रातको करिब ११ बजेतिर प्रहरी बनाई ससुराल पठाई श्रीमती प्रमिलालाई “हामि प्रहरी हौ तपाईको श्रीमानले आत्महत्या गरेका छन् लिन आएको” भनि नजिकको जंगलमा पुर्‍याएपछि पक्राउ परेका नक्कली प्रहरी नायव निरीक्षक अर्जुनकाे जिम्मा लगाएर रमेशकुमारले आफुसँग नगए मार्ने र आफु पनि मर्ने भन्दै डोरिले घाँटिमा बाँध्ने खुट्टा समेत बाँधी ज्यान मार्ने धम्की दिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।

त्यसपछि प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उजुरीका आधारमा
पक्राउ गरेकाे हाे। रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि सम्बन्ध राम्रो नभएपछि माइतीमा बस्दै आएकि श्रीमतीलाई योजना बमोजिम आफुसंग लिन रमेश सहित ४ जनाले फागुन २५ गते काठमाडौंको बागबजारबाट प्रहरीका नक्कली पोशाक प्रतिजोर प्रतिदिन ५ सयका दरले भाडामा ल्याएको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार