आश्विन ५ राेल्पा – जिल्लाकाे रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले गाउँपालिकामा हुने काम–कारबाहीहरु स्थानीय तहको नियम र कानून बमोजिम नै हुने बताएका छन् । शनिबार रोल्पाको होलेरीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष बुढाले यस्तो जानकारी दिएका हुन् । प्रमाण बिना अनावश्यक रुपमा गाउँपालिका र जनप्रतिनिधिहरुको चरित्र गर्ने काम बन्द गर्न परिचालित समूहलाई उनले अनुरोध गरेका छन् ।

रुन्टीगढी गाउँपालिकाले गरेका नमूना कामहरुबाट रुन्टीबासी खुसी भएको उनले बताए । गाउँपालिकामा समृद्धिको खाका र विकासमा दिगो व्यवस्थापन देखेर कोही पनि नआति बुढाको आग्रह छ । एउटा गाउँ कार्यपालिका बैठक बाहेक अन्य सबै गाउँ कार्यपालिका बैठकहरु र गाउँसभाहरु सहमति मै सम्पन्न भएको बताएका छन् । सबै कुराहरु मिलेर नै सहमति भएको अध्यक्ष बुढाको दाबी छ ।

कुनै पनि ठाउँमा गल्ती गरेका प्रमाणहरु छन् भने आउनुहोस् , छलफल गरौं । हामीहरु कारबाही भोग्न तयार छौं । तर, फरक विचार राख्ने साथीहरु समूह नै बनाएर राम्रो काम गर्दापनि कुप्रचार नगर्नुहोस्। राम्रो कामलाई राम्रो भयो भन्ने बानीको विकास गरौं– उनले भने ।

सामाजिक संजालमार्फत गाउँपालिका विरुद्ध आउने कुप्रचारमा कुनैपनि सत्य नभएको उनले बताए । रुन्टीगढी गाउँपालिकामा कुनै पक्ष वा विपक्ष भन्ने नै नभएको बुढाको दाबी छ। गाउँ–गाउँमा जनताबाट उठेका गुनासो वा टिप्पणीहरु सुनेपछि गम्भीरता साथ सम्बोधन गर्ने गरेको बताएका छन् । आफ्नो र गाउँपालिका विरुद्ध रुन्टीगढीका जनतालाई भ्रमित गर्ने काम गर्न बन्द गर्न कांग्रेस पार्टीका स्थानीय कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।

स्थानीय तहको निर्वाचन ताका जनतासँग जोडिने विषयवस्तु उठाएका थियौं । जो– हाम्रो घोषणा पत्रमार्फत प्रष्टसँग जनतामाझ पुगेको थियो । जुन रुन्टीगढीको पहिलो गाउँसभाबाट यहाँको कृषि, पर्यटन र पूर्वाधारबाट गाउँपालिकाको समृद्धि लिन सकिन्छ भन्ने ठोस एउटा नारा बनायौं । त्यो नारालाई टेकेर गरेका बिभिन्न जनमैत्री कामहरुलाई देखेपछि केहि राजनीतिक पार्टीका मान्छेहरु आतिएका छन्– अध्यक्ष बुढाले भने।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार