फागन १४ सुर्खेत – सडक दुर्घटनामा परि गम्भीर घाइते भएका वडाअध्यक्षकाे उपचारको क्रममा मृत्यु भएको छ।

गत ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखी पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्वरको भेरी गंगा नगरपालिका वडा नम्बर -१ का वडा अध्यक्ष ३० वर्षिय नवराज कार्की सवार मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको गम्भीर घाइते भएका थिए। कार्की सुर्खेत जिल्ला भरिकै कान्छा वडा अध्यक्ष समेत हुन।

दुर्घटना पछि थप उपचारकाे लागि हेलिकप्टर मार्फत काठमाडौ स्थित बाँसवारी न्यूरो अस्पतालमा लिएकोमा शुक्रबार राति साढे १० बजेतिर मृत्यु भएको अस्पताल स्राेतले जनाएको छ।

कार्की भेरीगंगा नगरपालिक वडा नं. १ का नेकपा माओवादी केन्द्रबाट २०७४ काे स्थानीय निर्वाचनबाट जननिर्वाचित वडाध्यक्ष हुन् । भेरी गंगा नगरपालिका नगर कमिटीका सचिव र साेहि नगरपालिका जेसिजका महासचिव समेत हुन।

स्थानीयहरु प्रदर्शनमा

वडा अध्यक्ष कार्कीको उपचारका क्रममा निधन भएपछि भेरीगंगाका स्थानीय आक्रोशित भएका छन् ।

दोषीलाई कारवाही हुनु पर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र घटनापछि हालसम्मको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गर्दै सडक तथा बजार बन्द गरि प्रदर्शन गरिरहेका छन।

प्रदर्शन गर्दै रत्नराजमार्ग अन्तर्गत सुर्खेत–छिन्चु सडक खण्डमा टायर बाल्दै र रुख ढालेर विरोध जनाएका छन् । भेरीगंगाको सत्तरी, तोलीखोला, सल्ली–जाजरकोट सडक खण्ड, मुरलिखोला–हेर्रे खण्ड पुर्णरुपमा ठप्प पारेका छन।

प्रहरी के भन्छ ?

ठक्कर दिने गाडी चालक फरार रहेकाे र खाेजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

चालक मिनराज रसाइली घटना घटे लगत्तै फरार भएकाले अहिलेसम्म उनी नभेटिएकाे खाेजिकार्यकाे लागि सुर्खेत, बाँके र बर्दियाका प्रहरी युनिट खटिएकाे र भारती नाकाहरुमा समेत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सहायक कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्तीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार