फागुन १२ सल्यान – जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरुले मनपरि रुपमा कार्यालयमा अनुपस्थित हुने गरेकाे पाइएको छ।
पछिल्लो समयमा सेवाग्राहीबाट आएका गुनासोहरुकाे सम्बाेधन गर्ने क्रममा बुधबार गरेकाे छड्के अनुगमनका क्रममा सदरमुकाममा रहेका जिल्ला स्तरका विभिन्न १७ सरकारी कार्यालयको छड्के अनुगमन गर्दा ठुलाे संख्यामा कर्मचारी अनुपस्थित हुने गरेकाे जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।
अनुगमनका क्रममा एकै दिन विभिन्न कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ।
अनुगमन गरेका मध्ये सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६ जना अनुपस्थित भएको पाइएको छ। त्यसैगरी स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा इकाईमा २, जिल्ला आयुर्वेद कार्यालयमा ९, खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयमा १२, जिल्ला हुलाक कार्यालयमा ३, कारागारमा २, मालपोत कार्यालयमा २, शिक्षा विकास तथा समन्वय इकाईमा २ र नापी कार्यालयमा ३ जना अनुपस्थित रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए।
यति ठुलाे संख्यामा बिदा वा काज स्वीकृत नगराई कार्यालयमा आफुखुशी अनुपस्थित रहने कर्मचारीलाई अनुपस्थित रहनुको कारण स्पष्ट खुलाई एक साता भित्र लिखित जवाफ जिल्ला प्रशासनमा पेस गर्न समेत पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडकाले बताए।