फागुन ११ काठमाडौ – चर्चित लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको छ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। गएराति करिब २ बजे आफ्नै घर अगाडि आफ्नै गाडिबाट ओर्लिने क्रममा लडेर निधन भएको पारिवारिक स्राेतले जनाएको छ।

पाँच दशक अघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गीति नाटक गरी दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय छन्। लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरि एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन।

लामाले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानी,‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीत चर्चित छन।

उनका रचनाहरु राजा महेन्द्र र वीरेन्द्रको मन जित्न समेत सफल भएका थिए। राज दरबारमै बसेर पढ्ने मौका पाएका लामाले दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्स सम्म अध्ययन गर्ने अवसर पाएका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार