भाद्र २७ माेरङ – बिहीबार विराटनगरको कोसी अस्पताल ‘सरकारी’ले भर्ना गर्न नमान्दा विराटनगरकी एक गर्भवती महिलाले ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएको छ ।
केही दिनअघि मात्रै मोरङका प्रमुख जिल्ला अधिकारीले विराटनगरका निजी तथा सरकारी अस्पतालका प्रमुखलाई बोलाएर कुनै पनि बाहनामा बिरामीले उपचारबाट बञ्चित हुनुहुँदैन भनेका थिए। त्यस्तो उपचार गर्न बाहना बनाइ उपचारबाट बञ्चित भए कारबाही गर्ने बताएका थिए।
विराटनगर–६ सुकुम्बासी टोलीकी ३० वर्षीया विमला ऋषिदेव गर्भवतीलाई प्रसूतिका लागि कोसी अस्पतालले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो।
स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बिहीबार राति १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए। अस्पतालले बेड अभाव भएकाले अन्य अस्पताल लैजान भनेपछि बिरामीलाई घर फर्काए। घर लगेर बच्चा जन्माउनु अघि नै बिहान करिब ४ बजेतिर महिलाको मृत्यु भयो।
दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रूपमा कमजोर हुँदा अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले बताए। ‘दुई पटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवती महिलाको मृत्यु भयो।’ शिवुको घर दुहबी–१० भए पनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगरमा बस्दै आएका थिए। मृतकका ९ र ३ वर्षका दुई छोरी छन् भने अढाइ वर्षका छोराको दुई वर्षअघि खोलामा डुबेर मृत्यु भयकाे जनाइएकाे छ ।
उता अस्पताल प्रशासन संग बुझदा अहिलेसम्म कुनै पनि बिरामीलाई फिर्ता पठाएका छैनौं र त्यस्तो गरेको पनि छैन,’ कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले भने, ‘हाम्रो विशेष प्राथमिकता गर्भवती महिला नै हो। कसरी फिर्ता पठाउँछौं।’ यस विषयमा बिहाननै खबर पाएँ लगत्तै आफैले छानबिन थालेको दासले बताए। ‘त्यसरी उपचार नै नगरी फिर्ता पठाएको पाए कारबाही गर्छु, डाक्टर दासले भने, ‘प्रसूति वार्ड प्रमुखदेखि डिउटीमा रहेका सबैलाई सोधपुछ गरिसकेको छु। अझै यस विषयमा गम्भीर भएर लागेको र मृतक महिलाका आफन्त जो यस अस्पताल आएका हुन् उनलाई सम्पर्क गर्नु अनुरोध गर्छु।’ कोरोनाले गर्दा बिरामीलाई पिसिआर परीक्षणपछि रिपोर्ट अनुसार छुट्टछुट्टै ठाउँमा उपचार गर्ने गरेका छौं, डाक्टर दासले बताए।