माघ २७ सुर्खेत – सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले अख्तियारमा उजुरी परेका वडा अध्यक्षलाई वडाकाे काममा लगाएको प्रतिबन्ध अदालतले उल्ट्याई दिएको छ।

भ्रष्टाचार मुद्दामा अख्तियारमा वडा नम्बर १ का वडाध्यक्ष शान्त कुमार यरीकाे नाममा उजुरी परेपछि नगर प्रमुख पुनले गत पुस १९ गते वडाध्यक्षले कुनै काम नगर्न भनेर नगरपालिका मार्फत पत्राचार गरेपछि आफ्नो क्षेत्राधिकार लुटिएको भन्दै वडा अध्यक्ष यरीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि बिहीबार न्यायधीश राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको संयुत्त इजलासले नगर प्रमुखकाे पत्र र उनकाे अदालत संगकाे बयान अनुसार प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरेर वडाध्यक्षलाई कुनै पनि हस्ताक्षरित कागजी काम गर्न रोकेको ठहर गर्दै साे कार्य नगर्न र नगराउन अन्तरिम आदेश दिएकाे छ।

गत असाेज ६ गतेकाे अख्तियारकाे निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालयबाट ऐन २०५९ काे नियम ९ बमाेजिम नगरपालिकालाई गत पुस १९ गते गरेकाे पत्र विपरीत नगरप्रमुखले वडा अध्यक्षलाई अधिकार बाट वञ्चित गरेकाे अदालतले ठहर गरेकाे छ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार