माघ २३, सल्यान –  बागचौरमा रहेको एन आईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विपन्न तथा जाडोबाट प्रभावित विभिन्न क्षेत्रमा बसोबास गर्ने समुदायका मानिसहरुलाई १/१ थान ब्लाङ्केट वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले लघुवित्त वित्तीय संस्थाले पनि बैंकिङ कारोबार मात्रै नगरि यस्ता किसिमका सामाजिक कार्यतिर लागेको देख्दा आफू खुसी भएको बताएका छन । उनले वित्तीय संस्थाहरुले पैसाको कारोबार गरेर नाफातिर मात्रै लाग्नु भन्दा सामाजिक कार्यहरुतिर लाग्न र अन्य लघुवित्तहरुले पनि यस्ता खालका उदाहरणीय कामहरु सिक्न अनि गर्न अनुरोध समेत गरेका छन ।
उक्त कार्यक्रममा एन आईसी एशिया लघुवित्त बागचौर शाखाका शाखा प्रमुख निर्मल भण्डारीले आफुहरुले वित्तीय कारोबार मात्रै नगरी सानोबाट भएनी सामाजिक कार्यको थालनी गरेको बताएका छन । उनले ब्लाङ्केट वितरणका लागि वडाहरुसँग समन्वय गरि विपन्न परिवार छनोट गर्न लगाएर र लघुवित्तमा आवद्ध भएका गरिब परिवारहरु छनोट गरि ३० घरपरिवारलाई ब्लाङ्केट वितरण गरेको साथै यस्ता खालका कार्यक्रम अन्य वर्षहरुमा पनि क्रमागत रुपमा गर्ने बताएका छन ।
उक्त ब्लाङ्केट बागचौर नगरपालिका, कुमाख र दार्मा गाउँपालिकाका लक्षीत समुदायका घरपरिवारका मानिसहरुलाई वितरण गरिएको थियो ।
कार्यक्रममा बागचौर नगरपालिका वडा नं.२ का वडाध्यक्ष टोप बहादुर डाँगी, वडा नं. ३ का वडाध्यक्ष टिकाराम के.सी., ईलाका प्रहरी कार्यालय थारमारेका शेर ब. चन्द, प्रहरी विट बागचौरका धनराज बस्नेत लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य प्रकाश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार