माघ ४ चितवन – भीडभाड र महोत्सव तथा मेलाकाे मौका छोपी विभिन्न व्यक्ति तथा पसलबाट गरगहना र नगद चोर्ने सात जना भारतीय महिला गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा भारत गोरखपुर स्थायी ठेगाना भएकी प्रियङका देवी सोही ठाउंँकी अतिम्मा देवी, पायल देवी, नितु देवी, शिला देवी, मञ्जु देवी र आरोही भारती रहेका छन्। माघी तथा मकर संक्रान्तिका अवसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडमा सर्वसाधारणको नगद र गरगहना चोरीमा संलग्न भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उक्त गिराेहले शनिबार दिउसाे १२ बजे भरतपुर महानगरपालिका-१० बस्ने बसन्त गिरी र सीता गिरीको नारायणगढस्थित शहिदचोकको फुटपाथमा सामान किन्ने क्रममा सीताको झोलामा रहेको नगद ६ हजार, एटिएम कार्ड २ थान र ९४ हजार मूल्य बराबरको २ थान सुनको औंठी र भरतपुर महानगरपालिका-५ बस्ने मायादेवी श्रेष्ठको २ लाख बराबरको सुनको सिक्री चोरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले बताए।

उक्त गिराेह माथि पिडितहरुकाे किटानी जाहेरीको आधारमा पक्राउ गरि जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार