भाद्र १४ सप्तरी – भारतको पन्जाबबाट फर्केका श्रीमानलाई क्वारेन्टिनमा बस्न आग्रह गर्दा सप्तरी सुरुंगा नगरपालिका– ३ लक्ष्मीपुरका दीपेन सदाले श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाएका थिए । गाउँ–समाजमा आफ्नो बेइज्जत गरेको भन्दै उनले ५ साउनमा श्रीमतीलाई आगो लगाएका थिए ।

आगजनीबाट गम्भीर घाइते भएकी वसन्ती सदाको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई शनिबार दिउँसो लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएको हो । सुरुंगा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएपछि घाइतेका बाबु मनभरन सदा र आमा सोनावतीले काठमाडौं लगेका हुन् ।

श्रीमान भन्छन : क्वारेन्टिन बस्नभन्दा लगाइयो आगो

गत ४ साउनमा २९ वर्षीय दीपेन सदा भारतको पन्जाबबाट नेपाल आएका थिए । उनीमाथि कोरोनाको आशंका गर्दै श्रीमतीले क्वारेन्टिन जान सुझाब दिएकी थिइन् । आफूमाथि कोरोनाको आशंका गरेको भन्दै दीपेनले ५ साउन बिहान ११ बजेतिर मट्टीतेल छर्किएर आगो लगाइदिएको पीडितकी आमा सोनावतीले बताइन् ।

आगजनीबाट घाँटीमुनि र कम्मरमाथिको भाग जलेकी वसन्तीलाई तत्काल लहान ल्याएर सामान्य उपचार गरिएको थियो । भोलिपल्ट विराटनगर लगिए पनि नोबेल अस्पतालले भर्ना नलिएपछि पुनः फर्काएर घरमै ल्याएको आमा सोनावतीले बताइन् । घाइतेको अवस्था झनै गम्भीर भएपछि तीन दिन घरमै राखेर ८ साउनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरेको आमा सोनावतीको भनाइ छ । ‘अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम भयो भन्दै घर जान भनेपछि पुनः २५ साउनमा घर ल्याएर राख्यौँ,’ उनले भनिन्, ‘छोरीको अवस्था नाजुक भएपछि १० भदौमा लहान ल्याएर उपचार गर्दै थियौँ ।’

लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुशवाहाले घाइतेलाई अस्पतालको आन्तरिक स्रोतबाट १० भदौदेखि सम्भव भएसम्मको उपचार गरेको बताए । उनले भने, ‘उनको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको छ । सुविधासम्पन्न ठाउँमा उपचार भए उनले पुनर्जीवन पाउने थिइन् ।

श्रीमान पुर्पक्षका लागि कारागार चलान

सात वर्षीया छोरीकी आमासमेत रहेकी पत्नीलाई मट्टीतेल छर्केर आगो लगाई हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका दीपेनलाई अदालतको आदेशमा कारागार चलान गरिएको छ । घटनालगत्तै पक्राउ परेका दीपेनविरुद्ध घाइतेकी बाबुले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरीको आधारमा थप अनुसन्धान गरी राजविराजस्थित जिल्ला अदालतमा पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार