पुस २६ स्याङजा – जङगलमा सिकार खेल्न गएका एकजनाकाे मृत्यु भएपछि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २० गते राति आँधिखोला गाउँपालिका-१  कालिखर्क जंगलमा ७ जना सिकार खेल्न जादा २७ वर्षीय मनोज बिकलाई भरूवा बन्दुकको छर्रा लागि घटनास्थलमै मृत्यु भएको हाे। साथिले कालिजलाई हानेकाे छरुवा मनाेजलाई लागेपछि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पक्राउ पर्नेहरुमा आँधिखोला गाउँपालिका वडा-१ बस्ने २७ वर्षीय सूर्य भनिने भिम बहादुर सुनार, २४ वर्षीय दिनेश भनिने रेवत पौडेल, ३७ वर्षीय धन बहादुर बिक, २४ वर्षीय गोबिन्द भनिने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामी र एक १८ वर्षीय किशोर रहेका छन् । उनीहरुमध्ये भिम, १८ वर्षीय किशोर, रेवत र धनलाई सोही दिन तथा फुननारायण र साजनलाई शुक्रबार बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको बताएको छ।

उनिहरुकाे साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा र ३० बट्टा सलाई समेत बरामद गरेको छ। उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले बताए।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार