पुस २१, काठमाडौं – हिजाे मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ ।
देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधबार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताएकी छन । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिबारसम्म नै वर्षाको सम्भावना रहेको उनले बताईन । आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।
पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ ।
अबका आउँदाे चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ