पुस १९ रुकुम (पूर्व) – एक साता देखि हिउँमा फसेका मजदुरहरुकाे सकुशल उद्वार गरिएको छ।
पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित माथिल्लो भु-भाग घुसदुङमा हिउँमा फसेका मजुदरको सोमबार दिउँसो नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएको हाे। वडा पालिका अन्तर्गतकाे घाेरेटाे बाटाे निर्माण गर्न गएका १० पुरुष र ४ महिला गरि १४ जना गत १३ र १४ गतेकाे अत्यधिक हिमपातका कारण फसेका थिए। उद्वार गरिएका जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन ओढारमा बसिरहेको अवस्थामा उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) ले जनाएको छ।
उनिहरु एक साता देखि हिउँदमा फसेकाे भन्ने खबर आइतबार मात्रै थाहा पाएपछि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयले उद्वारकाे पहल गरेका थिए। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्काेटाले हेलिकप्टरकाे लागि गृहमन्त्रालयसंग माग गरेपछि मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट पठाएपछि सोमबार दिउँसो दुई बजे चार पटक गरि १४ जनालाई मजदुरहरुकाे गाउँ पेल्मामा सकुशल ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) का प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए।
जिल्ला प्रशासन कार्यालयले हिमपातकाे जाेखिमलाई मध्यनजर गरि हिमपातजन्य विपद् प्रतिकार्य योजना, २०७८ पनि ल्याएकाे छ। जस अनुसार हिमपातका कारण उद्वार तथा समन्वयका गरि जनधनकाे क्षति हुन नदिनका लागि विभिन्न ३ चरणहरुमा वर्गीकरण गरेकाे छ। जस अनुसार पहिलाे तयारी, दाेस्राे उद्वार तथा प्रतिकार्य र तेस्रो उद्वार तथा प्रतिकार्यपछिकाे कारबाही समावेश गरिएको छ।