पुस ९ सल्यान – लुम्बिनी र कर्णाली प्रदेश जाेडने एउटा मुख्य राजमार्ग हाे राप्ती राजमार्ग । दाङकाे सतबरिया अमेलिया देखि रुकुम पश्चिम मुसिकाेट सम्म १६८.६८ किलोमिटरमा फैलिएको याे राजमार्ग मृत्यु मार्ग नै बनेको छ ।

तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठकाे पालामा २०४२ मा ट्रयाक खुलेकाे हाे । याे राजमार्गमा करिब २०४४/०४५ सालतिरबाट सामान्य गाडि गुडन सुरु गरेका हुन । दाङ – तुलसीपुर सल्यान खण्डतिर २०७० सालमा कालोपत्रे गरिएको हाे । चौबीसै घण्टा व्यस्त रहने याे राजमार्गमा कालाेपत्रे उम्किएर ग्रामीण कच्ची सडक झै स्वरुप बदलिएको छ । कालाेपत्रेकाे नमुना नै सकिएर खाल्डाखुल्डी र साँघुरो सडकमा तिव्र गति, क्षमता भन्दा बढी यात्रु तथा ओभर लाेड जस्ता यावत कारणले श्रृङखलाबद्ध दुर्घटना भइरहेका छन ।

लुम्बिनीकाे दाङ – तुलसीपुर राम्री हुँदै कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार मानिने कपुरकाेट बिचकाे खण्डलाई अति जाेखिमकाे क्षेत्र मानिन्छ । याे बाहेक अरिङगाले फेदी हुँदै लगभग सल्लेखाेलासम्मकाे अवस्था पनि उस्तै छ । दुर्घटना पनि यहि खण्डमा पछिल्लो चरण दैनिकजसाे नै भइरहेका छन । सडकमा रहेका खाल्डाखुल्डीको कारण राप्ती राजमार्गमा दुर्घटना बढ्दो छ ।

याे राजमार्गको सल्यान खण्डमा चालु आर्थिक वर्षको श्रावण यता ३७ वटा सवारीसाधन दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानकाे तथ्यांकमा छ । याे राजमार्गकाे दुर्दशा राज्यले पक्कै पनि नदेखेकाे हाेइन । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राजनितीक दलका नेतृत्व पनि सरकारकाे पहुँचमा पुगेकै छन । तर अहिलेसम्म पनि याे राजमार्गमा खासै नजर कसैकाे परेकाे देखिदैन ।

मर्मतको नाममा करोडौं खर्च परिणाम शुन्य

याे राजमार्गलाई बजेटकाे अभाव भने कुनै आर्थिक वर्षमा भएन । तर टुक्रे बजेट निरन्तर पाइरहेकाे याे राजमार्गमा समयमै काम पनि कहिल्यै भएन । कहिले सडक डिभिजनकाे लापरबाहीले बजेट विनियोजन भएकाे दशौ महिनासम्म पनि कामकाे कुनै प्रकिया चलाउन नसकेकाे पिडा याे राजमार्गले भाेगेकाे छ ।

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने बहानामा काम गरे जस्तो गरि बालुवमा पानी हाले झै बजेट बनाइएकाे छ । बजेट खर्च गर्न समेत समय नभएर पटकपटक रकम फ्रीज भएर जाने गरेकाे छ ।

डिभिजन सडक कार्यालय दाङले पेश गरेको प्रस्तावलाई संघीय अर्थमन्त्रालयबाट आर्थिक वर्ष ०७५/०७६ मा ४९ करोड बजेट विनियोजन भएकाे थियाे । आर्थिक वर्ष ०७६/०७७ मा स्तरोन्नतिका लागि भन्दै ९८ करोड बढि बजेट विनियोजन भयाे । कामकाे जिम्मा पाएकाे उज्ज्वल निर्माण सेवाले दैनिक १५ घण्टा सम्म सडक बन्द गरेर काम चलायाे । तर परिणाममुखि काम भने कतै देखिएन ।
अहिले पनि १० कराेड बजेटमा काम भइरहेको छ।

याे सडकखण्डमा भु-बनावटले पनि निकै चुनौती दिएकाे छ । कडा चट्टान तथा वर्षायामकाे समयमा निरन्तर वर्षेनी पहिराेका कारण पनि मर्मतको कुनै परिणाम देखिदैन ।

केही प्रतिनिधि मुलक मुख्य भयानक दुर्घटना

२०६२ सालको कात्तिकमा भाइटिकाकाे भाेलिपल्ट त्रिवेणी गाउँपालिकाको सल्लेखाेलामा यात्रुवाहक बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भयाे । त्यसपछि सिद्धकुमाख गाउँपालिका अन्तर्गत पर्ने मोख्ला बजार नजिकै काठमाडौबाट रुकुमका लागि छुटेको बस दुर्घटना हुदा ८ जनाकाे मृत्यु भयाे । २०७६ बैशाखमा दाङबाट शैक्षिक भ्रमणमा सल्यान गएका विद्यार्थी सवार बस दुर्घटना हुदा २७ जना विद्यार्थीको मृत्यु भयो ।

त्यसैगरि गत कार्तिकमा पनि तिहारकाे भाेलिपल्ट सल्यानको दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेकाे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना हुदा १२ जनाकाे मृत्युु भयाे । गत मंसिर २७ गते दाङ तुलसीपुरबाट सल्यान कपुरकाेटका लागि छुटेकाे यात्रुवहाक जीप तुलसीपुर – ३ सिरखोलामा दुर्घटना हुदा ४ जनाकाे ज्यान गयाे ।

यी दुर्घटना यस राजमार्गको लागि प्रतिनिधि मुलक दुर्घटना मात्र हुन । स-साना दुर्घटना दैनिक जसाे नै हुने गरेका छन । दुर्घटना हुदा शोकमा भए झै गर्ने सरकार वाला तथा सम्बन्धित निकाय त्यसपछि मौन देखिन्छन् ।

दुर्घटना न्युनिकरणकाे लागि प्रहरीको प्रयास

पछिल्लो समय दुर्घटना न्युनिकरण गर्न भन्दै प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु सक्रिय रुपमा संचालन गर्दै आएकाे छ ।

जिल्ला ट्राफिक कार्यालय सल्यानले उक्त राजमार्गमा पर्ने विभिन्न स्थानका आफ्ना मताहतका पाेष्टहरुसँग सहकार्य गरेर विशेषगरी सवारी चालकलाई केन्द्रित गरेर सचेतना मुलक कार्यक्रम गरिरहेकाे छ । सल्यानमा राप्ती राजमार्ग अन्तर्गत कपुरकाेट देखि बागचौर नगरपालिका बाङ्गेलाखुरीसम्मकाे लागि टाइम कार्ड लागू सहित थारमारेमा रिफ्रेस सेन्टरकाे स्थापना गरेकाे छ ।

तस्बिर; जिल्ला ट्राफिक कार्यालय सल्यान

दैनिक रुपमा चालकसंग १ मिनेट कार्यक्रम पनि संचालन गरेकाे छ । ट्राफिकका यस्ता गतिविधिले मुख्यतः सवारीसाधनमा हुने प्रतिस्पर्धा कम भई सवारी साधनको गति पनि नियन्त्रण गर्न सकिने भएकाले यस्तो विकल्प गरिएको जिल्ला ट्राफिक कार्यालय सल्यान बताउँछ ।

सवारी चालकहरुकाे अनुभव

राप्ती राजमार्ग अन्तर्गतको दाङ- सल्यान सडकखण्डले वर्षेनी हजारौ मान्छेको ज्यान लिने गरेता पनि यहाँको सडकको अवस्था जिउका तिउ रहदा लामो समय देखि यहि रुटमा सवारी चलाउने चालकहरुले दुखेसाे गरेका छन ।

यस सडक खण्डमा गाडी चलाउने सवारी चालकहरु आफ्ना पिडाहरु पोख्दै भन्छन “गाडी दुर्घटना हुदा हामीलाई गाली गर्नु हुन्छ होला हामी नेतालाई गाली गर्छौ, बाटोको अवस्था नै यस्तो छ अनि गाडीको ईन्जन, टायर छिनभरमै बिग्रन्छन हामीसँग तत्काल मर्मत गर्ने पैसा पनि हुदैन।” अनि बाटोका कारण पनि यस्तो समस्या आउने गरेको बताउँछन ।

दुई पाङ्ग्रे सवारी साधनका चालककाे पीडा झन बढि छ । धुलाम्मे सडकका कारण जाेखिम माेलेरै यात्रा गर्ने बाध्यता नै छ । खाल्डाखुल्डी त्यसैमा ठुला सवारी साधनले उडाएकाे धुलाे आफ्नो साइड देख्न समेत गार्‍हो पर्ने बताउछन् । कपुरकाेट-राम्री खण्डमा हिडदा त मृत्यृ संगै दौडिरहेको जाेखिम संग गन्तव्यमा पुगिन्छ वा पुगिदैन भन्ने डर मनमा केलाउदै हिडनुपर्ने बाध्यता रहेकाे बताउँछन् ।

यात्रुहरुकाे पनि पीडा उस्तै छ भन्छन; “काम विशेषले, बाध्यताले यात्रा गर्नै पर्ने हुन्छ, यो सडकबाट यात्रा गर्दै गर्दा बसको झ्याल छेउमा बस्नै मन लाग्दैन। बाहिरको सबै बाटो देखिन्छ यसले गर्दा गएको मान्छे फर्किने हो कि होईन भन्ने टुंगो हुदैन अनि एकपटक घरपरिवार सबैलाई सम्झन मन लाग्छ, भाग्य बलियो रहेछ भने बाँचेर फर्किन्छौ नत्र हामी जस्तै ज्यान गुमाएका कयौलाई सम्झिन्छौ मनभरीको डरसँगै यात्रा गर्छौ ।” थप फाेटाे फिचर

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार