मंसिर २९ काठमाडौ – नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन्।

कुल ४६२३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भएकाे निर्वाचन समितिले जनाएको छ। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियाे।

देउवाकाे राजनीति यात्रा

वि.स २००३ जेठ ३१ गते डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नाे राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति समेत बने। आफ्नो राजनीतिक सङघर्षका क्रममा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका देउवा अहिले पाँचौ पटक प्रधानमन्त्री भइसकेका छन।

२०४६ सालको जनआन्दोलनपछि सुदरपश्चिममा राजनीतिमा पहिचान बनाउन सफल भएका देउवा २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला नेतृत्वकाे सरकार हुदा देउवा गृहमन्त्री बन्न सफल भएका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बनेपछि २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

२०५६ सालमा डडेल्धुरा बाट निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। २०५८ असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरे। ०५९ जेठ ८ मा संकटकाल लम्ब्याउने निर्णय गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी निष्कासनमा परेका देउवाले ०५९ असोज ४ मा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी सभापति बनेका थिए ।

फेरि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाएका थिए।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेसलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन समेत गरेर त्यसको सभापति भएका थिए।

२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बने।

देउवाकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भयो। २०७२ साल फागुनमा भएको १३ औं पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता बने।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका देउवाले सन् १९८९ देखि १९९० सम्म लन्डन स्कूल अफ इकोनाेमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।

कांग्रेसको १२ औँ महाधिवेशनमा सुशिल कोइरालासँग देउवा सभापतिमा पराजित भएका थिए। १४ औं महाधिवेशनमा पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि देउवा र डा.शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार