मंसिर २७ राेल्पा – तत्कालिन दस वर्षे सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पाको होलेरी बजारको जुन गतिमा समग्र बिकास हुनुपर्ने हो त्यस गतिमा विकास हुन सकेको छैन।

त्यसो त स्वर्गद्वारी महा प्रभुको तपोभुमी गढिलेखको काखमा अवस्थित जिल्लाकै एक प्रमुख व्यापारीक केन्द्र,पर्यटनको प्रचुर सम्भावना बोकेको संगम स्थल होलेरी बजार निकै सुन्दर छ। तर यहाँ भइरहेको तल्लो स्तरको राजनितिले यो ठाउँ विकासमा पछाडि पर्न गएको छ। साविकको झेनाम,डुब्रिङ,डुबिडाँडा र सखी गाविसको भुभाग रहेको होलेरीमा त्यति बेला कुनैपनि गाविसले लगानी गर्न चासो देखाएन।

मुलुकमा संघीयता लागू गरिएयता पनि होलेरी बजारलाई रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ५,६,७ र ९ भुभाग रहने गरि सिमांकन गरियो। यि सबै वडाका वडा कार्यालयहरु गाउँतिरै छन्। र बजेट विनियोजन गरिदा वडा स्तरिय जनप्रतिनिधिहरुको ध्यान जम्मै गाउँतिर मात्रै देखिन्छ। यो नै होलेरी विकासका लागि दुर्भाग्य बन्न पुग्यो। खास होलेरी बजार माइग्रेट बस्ती हो। तर अहिले बजारको जनघनत्व र व्यापार दिन प्रतिदिन गुणात्मक रुपले बढिरहेको छ। २०५२ सालमा तत्कालीन माओवादी पक्षद्वारा प्रहरी चौकी आक्रमण गरिएपछि राज्यले होलेरीमा लगानी गर्न सक्ने अवस्था थिएन। बरु त्यही समयमा यहाँ रहेका सरकारी कार्यालयका भवनहरु उजाडबिजाड बनाइयो। युद्ध क्रूर हुन्छ।युद्धले क्षति निम्त्याएरै छोड्छ। जुन स्वभाबिकै थियो।

मुलुकमा लामो समय अराजकता मच्चियो २०७५ सालमा २० वर्षपछि संघीयता प्रणाली सहित स्थानिय तहको निर्वाचन पछि होलेरी विकासले फड्को मार्ने अपेक्षा यहाँका सर्वसाधारणहरुको थियो। विडम्बना होलेरीलाई द्वन्द्वकालको इतिहाससंग भजाएर ठुल्ठुला भाषण गरेर उफ्रने जनप्रतिनिधिहरु र नेताहरु थुप्रै देखियो। तर साच्चिकै होलेरीको भविष्य बारे चिन्तन गर्ने आजसम्म एकजनापनि नदेखिएको स्थानियहरुको दुखेसो रहेको छ। आधुनिकताको यो समयमा होलेरी बजारलाई स्मार्ट सिटीको अवधारणा गरेर कार्यान्वयनको प्रक्रिया अगाडि बढाइसक्नु पर्ने हो।तर यसो हुन सकेको छैन। जिम्मेवार दलका कतिपय नेताहरू होलेरीलाई राजनैतिक मैदान बनाउँदै आएका छन्। उनीहरुको स्थायी बसाई भने दाङमा रहेको छ।

यसबाट उनिहरुले होलेरीलाई खोक्रो भाषणको प्रयोग थलो मात्र बनाएका छन् भन्ने प्रष्टै बुझिन्छ।आफ्नो अनुभवको आधारमा स्थानिय रुन्टीगढी गाउँपालिकाले गत बर्ष पालिकाको पुनः सिंमाकन हेरफेर गरि होलेरी र आसपासको भेग समेटेर अर्को वडा बनाएर होलेरीमै वडा कार्यालय बनाउने प्रस्ताव अघि सारेको थियो।नेपाली काङ्ग्रेसका रुन्टीगढी सभापति जनक पुनले चर्को बिरोध,असहमति जनाएपछि स्तगित भएको थियो।

राजनैतिक अंक गणित र लेखाजोखा आफ्नो ठाउँमा होला तर अधिकांश उपस्थितहरुले होलेरीलाई छुट्टै वडा बनाउने प्रस्ताव स्वागत योग्य भनेर सहमति जनाएपनि सभापति पुनको असहमतिले होलेरीको समग्र विकास अझै ओझेलमा पर्ने देखिएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार