मंसिर १७, सल्यान – सल्यानका सबै स्थानीय तहमा एकैसाथ २०७८ मंसिर १७ अर्थात् आज देखि लगातार १० दिन सम्म मतदाता नामावली संकलन गरिने भएको छ ।

निर्वाचन आयोग नेपालबाट स्वीकृत मतदाता नामावली कार्यक्रम २०७८ बमोजिम जिल्लाका १० स्थानीय तह मध्ये शारदा नगरपालिका बाहेक अन्य स्थानीय तहका केन्द्रमा २ चरणमा फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम गरिने भएको छ ।

पहिलो चरणको मतदाता नामावली संकलन कार्यक्रम २०७८ मंसिर १७ गते देखि मंसिर २६ गते १० दिनसम्म बन्गाड कुपिण्डे, बागचौर नगरपालिका, कपुरकोट, छत्रेश्वरी र दार्मा गाउँपालिकामा हुने भएको छ भने दोस्रो चरणको मंसिर २८ देखि पुस ८ गतेसम्म १० दिनका लागि त्रिवेणी, सिद्वकुमाख, कालिमाटी र कुमाख गाउँपालिकामा हुने भएको छ ।
साथै शारदा नगरपालिका भित्रका नयाँ मतदाता नामावली दर्ता, नयाँ नागरिकता प्राप्त गर्ने व्यक्तिहरुको मतदाता नामावली संकलन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय, सल्यानमा रहेको मतदाता नामावली संकलन कक्षबाट सेवा लिन हुन तथा बाहिरी जिल्ला स्थायी ठेगाना भएका मतदाताहरुको नामावली संकलन, त्रुटी सच्याउने ठाउँसारी गर्ने कार्य जिल्ला निर्वाचन कार्यालय सल्यानबाट नै हुने कुरा जिल्ला निर्वाचन अधिकृत मधुकर कुमार शाहले बताएका छन ।

उनले मतदाता नामावलीको क्रममा फरकफरक कामको लागि फरकफरक कागजातहरु आवश्यक पर्ने बताएका छन । जसअनुसार फोटो सहितको मतदाता नामावली संकलन गर्नको लागि सक्कल नागरिकता र सोको प्रतिलिपी, नागरिकताको ठेगाना भन्दा अन्य ठेगानामा नाम दर्ता गर्नु पर्ने भए बसाइँसराइको प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी, मतदाता नामावलीमा रहेको त्रुटी सच्याउनको लागि सक्कल नागरिकता र सोको प्रतिलिपी, सच्याउनु पर्ने विवरण खुल्ने कागजातको प्रतिलिपी, मतदाता नामावली हालको ठेगानाबाट अन्यत्र नाम सार्नको लागि सक्कल नागरिकता र सोको प्रतिलिपी, बसाइँसराइ/ विवाह दर्ता प्रमाणपत्र प्रतिलिपी, मतदाता नामावलीबाट नाम हटाउनको लागि बसाइँसराइ/ मृत्यु/ विवाह दर्ता प्रमाणपत्र पत्र अनिर्वाय लिएर जानको लागि अनुरोध समेत गरेका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार