मंसिर १६ काठमाडौ – विभिन्न अपराधीक क्रियाकलापमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

करोडौं रकम ठगी गरेकाे अभियाेगमा दुईजना पक्राउ परेका छन। पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं.१० का ४४ वर्षिय राजेन्द्र भण्डारी र काठमाडौ महानगरपालिका १३ ताहाचलका २८ वर्षिय रोजन भुजेल रहेका छन।

पिडितले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई Dr.Benjamin Franklin भनेर चिनाउने विदेशी नागरीकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र १ हप्ताको कोर्सको लागि मलेसिया आएकोमा आफुसँग भएको सबै रकम लुटिएको भनि विभिन्न दु:ख पिडाको कुरा गरी रकम पठाउन लगाइ ठगी गरेकाे खुलेकाे छ।

सहयोग गर्नुस म बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई राजेन्द्र भण्डारी र रोजन भुजेल समेतको बैक खाता नम्बरहरू प्रयोग गरी विभिन्न मितिमा राजेन्द्र भण्डारीको नामको गरिमा बिकाश बैकको खातामा रु ७८,००,०००।- र रोशन भुजेलको नामको नबिल बैकको खातामा रु ९,५०,०००।- समेत गरी जम्मा रु १,२२,००,०००।- रकम पिडितलाई पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरु मध्येका रोजन भुजेललाई बुधबार काठमाडौ कालिमाटी बाट र राजेन्द्र भण्डारीलाई बिहीबार १:३० बजे काठमाण्डौ महानगरपालिका वडा नं. ९ एयरपोर्टमा फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने दुईजनालाई पक्राउ परेका छन। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गा.पा.४ घर भई हाल काठमाडौ बालाजु बस्ने २७ वर्षिय राम बहादुर खत्री, कास्की लेखनाथ महानगरपालिका वडा नं.१० घर भई हाल काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने ४० वर्षिय गंगा बहादुर पुन रहेका छन। उक्त गिराेहले भारतबाट नेपालगंज हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी गर्ने गरेकाे पनि खुलेकाे छ।

बुधबार काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको गोप्य सूचनाको आधारमा महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित पक्राउ गरेकाे र आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाण्डौ पठाईएको महाशाखाले बताएको छ।

त्यसैगरी युरेनियम भनि अबैध कारोबार गर्ने दुइजनालाई पनि प्रहरीले पक्राउ गरेकाे छ। बुधबार बेलुका समयमा काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु बसन्तनगर स्थित एक गेष्ट हाउसमा हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिगएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट नुवाकोट बिदुर नगरपालिका ६ घर भई हाल काठमाडौ मनमैजु बस्ने ३१ वर्षिय प्रदिप घिमिरे, नुवाकोट बिदुर नगरपालिका२ घर भई हाल काठमाडौ मनमैजु बस्ने ३१ वर्षिय राजेन्द्र परियार र काठमाण्डौ तारकेश्वर नगरपालिका फुटुङ् बस्ने ३६ वर्षिय रंजित कार्कीलाई पक्राउ गरेकाे महाशाखाले जनाएको छ।

प्रति किलाे २ करोडको दरले किनबेच हुन लागेको युरेनियम जस्तो देखिने टल्किने पद्वार्थ १२००। ग्राम पनि बरामद गरेकाे छ। आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार