श्रावण ३१ जाजरकोट – विश्वमा नै लोपोन्मुख पंक्षिकाे सुचिमा परेको लोभीपापी गरुड कर्णाली प्रदेशकाे जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ।

भेरी नगरपालिका-१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटाको संख्यामा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम्‌ पंक्षी तथा नेपाल पंक्षी संरक्षण संघको आजिवन सदस्य गोविन्द सिंहले जानकारी दिएका छन्‌।

कालेगाउँ नजिकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाएको अधिकृत सिंहले जानकारी दिए। यसअघि सुर्खेतमा पनि १० वटा लोभीपापी गरुड भेटिएका थिए।

कालो शरीर, सेतो घाँटी र अग्ला खुट्टा हुने लोभीपापी गरुड विश्वमा पाइने १९ र नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये एक हो। निरन्तर संख्या घट्दै गएकाले यो प्रजातिको गरुडलाई अन्तरार्ष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले रातो अर्थात संवेदनशील सूचीमा राखिसकेको छ।

जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वकै दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पंक्षीहरु चिर कालिज, सुनगिद्ध र सेतो गिद्धको वास रहेको पाइएको सिंहले बताएका छन्‌। जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पंक्षीहरुको बासस्थान भएपनि यहाँ जंगल क्षेत्र मासिँदै गएकोमा संरक्षणविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्‌।

विश्वमा के छ यसकाे अवस्था ?

लोभी पापी गरुडको घटदो अवस्थाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको (IUCN) को रातो सुचीमा ‘संवेदनशील’ मा राखेको छ भने नेपालमा यसलाई संकटापन्नको नजिक भनिएको छ। यो गरुड अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार पाकिस्तान (अहिले निकै कम देखिने), भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, पश्चिम मलेसिया, इन्डोनेसियामा पाइन्छन्। चीनको युनान प्रान्तमा पनि यसको अभिलेख गरिएको छ। फिलिपिन्समा भने लगभग लोप भएको आशंका गरिएको छ।

नेपालमा के छ यसकाे अवस्था ?

१९औ शताब्दीमा पहिलोपल्ट अभिलेख गरिएको यो गरुड पुर्वको झापादेखि पश्चिममा कन्चनपुरसम्मका तराईका जिल्लाहरुमा पाइन्छ भने मध्यपहाडी जिल्ला जस्तै इलाम, संखुवासवा, खोटाङ, धादिङ, नुवाकोट, कास्की, गुल्मी, प्युठान, अर्घाखाँची, सल्यान, जाजरकोटमा पनि भेटिएको छ।

सिन्धुपाल्चोकको कुतुमसाङ्गमा २४७० मि उचाईमा र मनाङ्को भार्का गाउँ नजिक ३५४० मि उचाईमा अभिलेख गरिएको छ जुन दक्षिण एसिया मै अग्लो स्थानमा पाइएको लोभी पापी गरुड हो। यो गरुडको संख्या बारे विस्तृत अनुसन्धान भएको छैन तर जाडो मौसममा सिमसारमा गरिने चरा गणनाले भने यसको संख्या निकै कम देखाएको छ। अन्तर्रास्ट्रिय सिमसार संरक्षण संघका अनुसार २०१५ मा नेपालका विभिन्न ४२ स्थानमा गरिएको गणनामा जम्मा ६२ ओटा लोभी पापी गरुड पाइएको थियो। रुपन्देही र कपिलवस्तुमा गरिएको अनुसन्धानमा २०१७ मा ४१ र २०१८ मा ४६ ओटा लोभीपापी गरुड भेटिएका थिए ।

याे लाेपाेन्मुख हुनुकाे कारण के छन ?

लोभीपापी गरुडले आहारा खोज्ने खेतबालीमा मान्छेको बस्ती बन्दै छन्। अझ भनौ उद्योग कलकारखाना बन्दै छन् जसले यसलाई प्रत्यक्ष असर गरेकै छ। अर्कोतिर यसले गुँड लगाउने अग्ला रुखहरु मास्सिदै गएका छन्। सिमसारहरुको खस्किँदो अवस्थाले पनि यो गरुड लागायत अन्य पन्छीहरुलाई असर गरेको छ। यस गरुडको बच्चाहरु गुँडबाटै निकालेर खाने गरेको पनि देखिन्छ। तर पनि यस्तो अवस्थामा संवेदनशील सुचीमा भएको यस गरुडको अनुसन्धान र संरक्षणको प्रयास निकै कम मात्रामा भयकाे पाइन्छ ।

यसकाे संरक्षण कसरी गर्न सकिन्छ ?

खेतबालीमा रासायनिक विषादीको न्यून प्रयोग गर्ने, समयमै चोरीसिकारी रोकी बासस्थानको अग्ला रुख अनि सिमसारको संरक्षण गर्ने हो भने यसको संरक्षणमा टेवा पुग्छ ।

यसबाट हुने फाइदा के छन ?

गरुड स्वच्छ सिमसारको सूचक लोभी पापी गरुडले विषालु सर्पदेखि भ्यागुता, खेतबारीमा हुने अन्य कीरा खाएर किसानलाई सहयोग गर्छ। पारिस्थितिक प्रणालीको सन्तुलनको लागि यसको संरक्षण निकै महत्व रहन्छ। विश्वमै पन्छी पर्यटन निकै महँगो पर्यटन हो। अझ नेपाल सरकारले २०२० लाई भिजिट नेपाल वर्ष भनेर मनाउन सुरु पनि भैसक्यो। यसै चरा लगाएत अन्य चराहरुले पर्यटकलाई आकर्षित गर्दछ जसले स्थानीय एवम रास्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउँछ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार